आज (मे १७) अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) स्थापना भएको १५९ वर्ष पुगेको छ । विश्वमा टेलिग्राफ सुरु भएको १६ वर्षपछि विश्वका २० राष्ट्रको पहलमा स्थापना भएको यो संस्थाको नाम इन्टरन्यासनल टेलिग्राफ युनियन थियो भने सन् १९३२ मा यो संस्थाको नाम इन्टरन्यासनल युनियनमा परिवर्तन गरिएको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना भएको १०४ वर्ष बितेपछि अर्थात् सन् १९६९ मे १७ को दिन पहिलो पटक विश्व दूरसञ्चार दिवस मनाइएको थियो । दूरसञ्चार र सूचना समाजको आपसी सम्बन्धलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसङ्घको निर्णयपश्चात् ट्युनिसमा भएको सन् २००५ को सूचना तथा सञ्चार प्रविधिको उच्चस्तरीय शिखर सम्मेलनको निर्णयका आधारमा सन् २००६ मे १७ का दिनदेखि विश्व दूरसञ्चार दिवस र पहिलो पटक विश्व सूचना समाज दिवस छुट्टाछुट्टै मनाइएको थियो । सन् २००७ मे १७ देखि दुवै दिवस संयुक्त रूपमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका रूपमा मनाउन थालियो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको अगुवाइ तथा आह्वानमा आज यो दिवस विश्वका १९३ राष्ट्रमा मनाइँदै छ । यो दिवसको नारा दिगो विकासका लागि डिजिटल नवीन पद्धति रहेको छ । यो नाराले विश्वका डिजिटल प्रविधिले ल्याएको चामत्कारिक दूरसञ्चार सेवाको उपभोग विचार गर्दा समाजमा निकै लाभदायी प्रभाव पार्छ । दूरसञ्चार क्षेत्र आज राष्ट्रको पूर्वाधार विकासका लागि एक अति आवश्यक क्षेत्र बन्न गएको परिप्रेक्ष्यमा रेडियो दिवस, टेलिभिजन दिवस शिक्षा तथा विज्ञान दिवस जस्ता सम्बन्धित दिवसलाई समेत हृदयङ्गम गरी सबै सम्बन्धित क्षेत्र समेटिने किसिमबाट कार्यक्रम तय गरी दूरसञ्चार र सूचना समाज दिवस मनाउन सकेमा राष्ट्रको दिगो विकासका लागि दूरसञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान पुग्ने छ । सबै १९३ सदस्य राष्ट्रलाई उपयोगी हुने किसिमबाट आइटियुको ४८ सदस्यीय कार्यकारी परिषद्को निर्णयबाट नारा तय गरिन्छ ।
डिजिटल प्रविधिको अपत्यारिलो विकास
दूरसञ्चार क्षेत्रमा डिजिटल प्रविधिको द्रुतगतिको अपत्यारिलो विकासले मानव समाजमा परिवर्तन भएको छ । प्राचीन पौराणिक धार्मिक ग्रन्थमा उल्लिखित मनचिन्ते झोला, कल्पवृक्ष, कामधेनु गाई, पुष्पक विमानले पौराणिक कालमा दिने सेवा जस्तै आज डिजिटल प्रविधिमा आधारित एउटा सानो मोबाइल सेट (स्मार्ट फोन) ले दिन थालेको छ र आगामी दिनमा अझ बढी आधुनिक र हालसम्म नसोचिएको सेवा पनि डिजिटल पद्धतिको थप अध्ययन र अनुसन्धानपश्चात् उपलब्ध हुने वातावरणलाई नकार्न सकिँदैन । सबैजसो मुलुकमा डिजिटल प्रविधिमा आधारित पूर्वाधार दूरसञ्चार नेटवर्कको स्थापनापश्चात् ती स्थापना भएका नेटवर्कबाट आर्थिक बैङ्किङ, शैक्षिक, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह क्षेत्रलाई समेट्ने नवीन सेवाको सुुरुवात भयो । विश्वसनीय तथा प्रभावकारी रूपबाट ती सेवा उपभोग गर्न डिजिटल प्रविधिमा निरन्तर विशेषज्ञ तथा प्रवर्तनकारी समूहबाट अध्ययन अनुसन्धान भइरहेको छ । अध्ययन अनुसन्धान हुँदाहुँदै पनि सेवाप्रदायक संस्थाको जनशक्तिमा सिपको अभावले अनावश्यक झन्झट आइपर्ने सम्भावनालाई टार्न सबै पक्षले नयाँ प्रविधिको प्रयोग गर्न थाल्नुभन्दापहिले नै चनाखो हुनु पर्छ ।
डिजिटल प्रविधि सकारात्मक पक्ष प्राप्त हुने सेवालाई नयाँ पद्धति अनुसार उपभोग गर्ने वातावरण बनाउन आइटियुका सबै १९३ सदस्य राष्ट्र र ती सदस्य राष्ट्रमा रहेका अन्य एक हजारभन्दा बढी क्षेत्रगत समूह सदस्यका विशेषज्ञले कसरी सेवा पत्यारिलो, सुविधाजनक, प्रभावकारी बनाउन सकिन्छ भनेर गरेको प्रयासको लेखाजोखा गर्ने अवसर पनि आइटियुले निरन्तर उपलब्ध गराएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ र नेपाल
आइटियु स्थापना भएको ९२ वर्षपछि सन् १९५७ डिसेम्बर ५ मा नेपाल सदस्य बनेको थियो । सदस्यता प्राप्त गरेपछि पहिलो पटक सन् १९५९ मा नेपालले जेनेभामा भएको सर्वाधिकार र रेडियो सम्मेलनमा भाग लिएको थियो । तत्पश्चात् आइटियुबाट आयोजित धेरै जसो सम्मेलन, गोष्ठी आदिमा भाग लिने क्रम चालु भयो । विशेषज्ञको सेवा प्राप्त गर्न तथा नेपालको दूरसञ्चार क्षेत्रमा काम गर्ने इन्जिनियर र प्रविधिलाई तालिम व्यवस्था गर्न पनि आइटियु पछि परेन । दूरसञ्चार तालिम केन्द्र, रेडियो फ्रिक्वेन्सी मनिटरिङ स्टेसन, मर्मत तथा सञ्चालन केन्द्र स्थापना र दूरसञ्चार सेवाका गुणस्तर निर्धारण गरी सोही अनुसार स्पेसिफिकेसन तयार गर्न चाहिने सामग्री र विशेष सेवाका लागि पनि आइटियुको आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भयो । करिब छ वर्ष जति आइटियुको उपक्षेत्रीय कार्यालयको मुकाम पनि काठमाडौँ रहेकाले सहयोग लिने काममा सरलता हुन गयो । आइटियुसँगको सम्पर्कसूत्रका काम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट हुँदै आएको छ ।
दिवसको सान्दर्भिकता
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापनाकालको सम्झनामा विश्व दूरसञ्चार दिवस मनाउने प्रचलन स्थापना भएको १०४ वर्षपछि मात्र सुुरु भयो भने नेपालले पनि विक्रम संवत् २०१८ सालदेखि वैशाख २० गते राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरेको छ । सोही दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विशेषज्ञ तथा प्रविधि नवप्रवर्तकमध्येबाट छनोट गरी पुरस्कृत गर्ने जुन व्यवस्था भयो त्यो सराहनीय छ । विश्व दूरसञ्चार तथा सूचना प्रविधि दिवस (मे १७) आइटियुको आह्वानमा १९३ सदस्य राष्ट्रले मनाउने परिपाटी छँदाछँदै आइटियुले तय गरेका नाराभन्दा छुट्टै नारा तय गरी राष्ट्रियस्तरमा सूचना तथा सञ्चार प्रविधि दिवस (मे २) मनाएको सात वर्ष भएको छ । दिवस मनाउनु राम्रो हो तर एकै क्षेत्र समेट्ने एकै महिनामा दुई/दुई वटा दिवस मनाउने तात्पर्य भने बुझ्न सकिएको छैन ।
दिवस एक दिन मात्र मनाएर सम्बन्धित क्षेत्रको विकासमा कुनै सारभूत दिगो सफलता मिल्दैन । अघिल्लो वर्षको दिवसको नारा अनुरूप तय भएको कार्यक्रम एकीकृत गरी वर्षैभरि यसबारे जनतालाई चेतना जगाउने काम गर्न आवश्यक छ । तब मात्र आइटियुले चाहे जस्तो सफलता हासिल हुने छ । सदस्य राष्ट्रले पनि आफ्नो विकास प्रयासमा सहयोग भएको अनुभूति गर्न पाउने छन् ।
आइटियुको स्रोतसाधनबाट कसरी लाभान्वित हुने ?
बिनास्वार्थ कसैले सहयोग गर्दैन । आइटियुको स्वार्थ भनेकै कसरी आफ्ना सदस्य राष्ट्रलाई दूरसञ्चार क्षेत्रमा सक्दो सहयोग पु¥याउनु भएकाले विकसित देशबाट प्राप्त हुने सहयोगभन्दा आइटियुबाट प्राप्त हुने सहयोगमा स्वार्थको मात्रा कम हुन्छ । तसर्थ नेपालले आइटियुले नेपाललाई पहिले दिएको सहयोगसमेत दृष्टिगत गरी, प्रविधिको द्रुतगतिको विकासले समाजमा देखिएको परिवर्तनकारी अभ्यासलाई सजिलो पार्न आइटियुबाट आयोजित सभा, सम्मेलन, गोष्ठी, कार्यशाला, तालिममा विदेश जाने मौका दिने सोचभन्दा कसले कस्तो सहभागिताले नेपालले बढी फाइदा लिन सक्छ भन्ने विचार गरी सहभागी जनाउनु पर्छ । नयाँ प्रविधिको प्रयोगबाट आउने समस्या सुल्झाउन छोटो समयका लागि विशेषज्ञको सेवा उपलब्ध गराउन आइटियुसँग निरन्तर सम्पर्कमा रहनु र आइटियु र विकसित देशमा भएका विशेषज्ञको रोस्टर तयार गर्न आइटियुको सहयोग प्राप्त हुने छ ।
आइटियुबाट लिने मात्र होइन दिने काम पनि गर्नु पर्छ । आइटियुको सहयोगबाट आफ्नै स्रोतसाधनबाट सञ्चालित आयोजनाका कार्यान्वयनबाट पहिल्याएका सफलताको विवरण, आइटियुले समय समयमा मागेका तथ्याङ्क र हाम्रा देशका विशेषज्ञले दिने विज्ञताका सेवाको विवरण पनि आइटियुलाई उपलब्ध गराउन चुक्नु हुँदैन । आइटियुबाट अध्ययन अनुसन्धान गरी प्रकाशित ग्रन्थ हाम्रा लागि अति उपयोगी हुने हुनाले ती ग्रन्थ हाम्रा पुस्तकालयमा उपलब्ध हुने व्यवस्था गर्न आइटियुको सहयोग माग्न सकिन्छ ।
हामीले गर्नैपर्ने कार्य
दूरसञ्चार क्षेत्रमा जे जस्ता नयाँ प्रविधिको प्रयोग भएको छ ती प्रविधिको ज्ञान सिप आर्जन गर्न हामीले आइटियुको स्रोतसाधन प्रयोग गर्ने वातावरण हाम्रा नीति निर्माता तहमा, नियामक संस्थामा र सेवा प्रदायकहरूले सिर्जना गर्नु पर्छ । सारांशमा हामीले निम्न अनुसार कार्यपद्धतिको विकास गर्न पछि पर्नु हुँदैन ।
(१) मन्त्रालय, नियामक संस्था र सेवा प्रदायकको कार्यालयमा आइटियुको स्रोतसाधन, कार्यपद्धति, अध्ययन अनुसन्धानका प्रतिवेदन, विभिन्न सम्मेलनबाट पारित प्रस्ताव, अध्ययन टोलीका सिफारिससम्बन्धी कागजातको ताजा एकीकृत सूचीका साथसाथै सूची अनुसारका विवरण पनि आइटियुको परिपत्र अनुसार परिमार्जित हुनु पर्छ । मन्त्रालयले मनिटरिङ गर्ने कार्य गर्नु पर्छ ।
(२) विश्वविद्यालयमा दूरसञ्चार क्षेत्रको विकासका लागि सघाउ दिने खालका पाठ्यक्रमको तर्जुमा गरी सोही अनुसार पठनपाठन हुनु पर्छ । पाठ्यक्रम तयार गर्न र विश्वविद्यालयमा दक्ष जनशक्ति उपलब्ध गराउन मन्त्रालय, नियामक संस्था र सेवाप्रदायक उत्साहित हुनु पर्छ ।
(३) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुस्तकालयलाई आइटियुसम्बन्धी सबै प्रकाशन, अध्ययन प्रतिवेदन, सम्मेलनका निर्णय, नियमित परिपत्र सम्बन्धित सबैको पहुँच हुने गरी सेवा दिन सुधार गर्नु पर्छ । इलेक्ट्रोनिक लाइब्रेरीको समेत व्यवस्था हुन सक्ने गरी बजेट व्यवस्था हुनु पर्छ ।
(४) सन् २०१८ मा दुबईमा भएको आइटियुको सर्वाधिकार सम्मेलन पारित एजेन्डा कनेक्ट २०३० प्रस्ताव नं. २००, डिजिटल रूपान्तरणका लागि विश्व बैङ्कबाट प्राप्त सहयोग अन्तर्गतको २२ अरब रुपियाँ लागतको आयोजनाको मूलभूत सिद्धान्तलाई यथाशीघ्र कार्यान्वयन गर्नु पर्छ ।
उपसंहार
‘माल पाएर चाल पाउनु पर्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ पार्न हाम्रा जस्ता मुलुकले सबै क्षेत्रको आवश्यकता समेट्ने गरी दूरसञ्चार क्षेत्रको विकास गर्न अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको १५९ वर्षको इतिहासको ख्याल गरी आइटियुको स्रोतसाधन प्रचुर मात्रामा उपभोग गर्न चुक्नु हुँदैन । आइटियुमा हुने अध्ययन टोलीमा नेपाली विशेषज्ञ सहभागिता गराउन र नेपालमा आइटियुको सम्मेलन, गोष्ठी आयोजना गर्ने सम्बन्धमा मन्त्रालयस्तरबाट समन्वयकारी भूमिका निर्वाह गर्न सकेमा मात्र पनि नेपालको दूरसञ्चार प्रणालीले ठुलो फड्को मार्ने छ ।