केही वर्षदेखि संसारभर जलवायु परिवर्तनको असर भयावह रूपमा देखिन थालेको छ । गत अप्रिल १४ र १५ मा खाडी मुलुक युएई, ओमान, बहराइन र साउदी अरेबियाका केही भागमा जलवायु परिवर्तनको असर अस्वाभाविक रूपमा देखियो । युएईमा परेको असामान्य वर्षाले युएईको जनजीवन मात्र प्रभावित भएन, युएईमा बनेका र बन्दै गरेका कैयौँ विकासका पूर्वाधारका संरचनालाई नराम्रो गरी क्षति पुर्यायो । यो वर्षाले युएईको हवाईमार्ग र सडकमार्गसमेत अवरुद्ध हुन पुग्यो । भारी वर्षाले बिगारेका संरचनालाई मर्मतसम्भार गर्न अर्बौं डलर लाग्ने अनुमान गरिएको छ । त्यति मात्र होइन, वर्षाले थुपारेको फोहोर सफा गर्न मात्र एक अर्ब डलर लाग्ने बताइएको छ । ओमानमा २० जना र युएईमा चार जनाको ज्यान गयो । बहराइन र साउदी अरेबियामा मानवीय क्षति नभए पनि भारी वर्षाले भौतिक संरचनामा नोक्सानी पुर्यायो । पूर्वी युरोपको मध्य अक्षांशीय रेखाबाट बगेको तीव्र आँधीले युएईलगायत एसियाका अन्य भूभागमा समेत भारी वर्षा भयो । युएईमा परेको वर्षा ७५ वर्षपछिको सबैभन्दा ठुलो भएको जनाइएको छ ।
साउदी अरब, पाकिस्तान, नेदरल्यान्ड, स्विडेन, अमेरिका, क्यानडा, फ्रान्स र बेलायतका अनुसन्धाताको समूहले गरेको अध्ययन अनुसार मानवीय हेलचेक्रयाइँकै कारण जलवायु परिवर्तन भयो र यो दुःख भोग्नु परेको हो । पूर्वी एसिया, चीनलगायतका मुलुकमा समेत भारी वर्षा, तीव्र आँधीले जनजीवनमा ठुलो असर पु¥यायो ।
विश्वव्यापी रूपमा बढ्दै गएको तापमान वृद्धिले संसारभर असामान्य अवस्थाको सामना गर्नु परेको छ । तापमान वृद्धिकै कारण संसारकै सबैभन्दा ठुलो अन्टार्टिकाको आइसबर्ग (हिमखण्ड) फुटेको खबर छ । यो हिउँपहाड दक्षिणतर्फ सरेको बताइएको छ । ३० वर्षपछि यो हिउँपहाड सरेको हो । यो हिउँपहाड करिब चार हजार वर्ग किमीमा फैलिएको छ । यो हिउँपहाड अमेरिकाको न्युयोर्क सहरभन्दा करिब तीन गुणा ठुलो छ । ए२३ए नाम दिइएको यो हिउँपहाड सबैभन्दा पुरानोमध्येको एक मानिएको छ ।
विश्वव्यापी रूपमा तापक्रमको सन्तुलन कायम गर्ने अन्टार्टिकाको आइस भण्डार पग्लँदा जलवायुमा ठुलो असर परेको छ । यसरी जनवायु परिवर्तनको क्रमलाई सन्तुलित बनाइएन र बढ्दो तापक्रमलाई नियन्त्रण गरिएन भने यसले विकराल समस्या उत्पन्न गराउने निश्चित छ ।
विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम अहिले पनि नियन्त्रणबाहिर नै छ । गत वर्ष सन् २०२३ को ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म युएईमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनले ठोस निर्णय लिन सकेन । यद्यपि ११ हजार गिगावाट सोलार प्लान्ट स्थापना गर्ने प्रतिबद्धता यो सम्मेलनमा व्यक्त गरिएको थियो । त्यसलाई सकारात्मक नै मान्न सकिएला तर औद्योगिक राष्ट्रहरूको पहलकदमी नभएसम्म यस्तो सम्मेलनले सार्थकता पाउन मुस्किल पर्छ ।
जलवायु परिवर्तनले तापक्रम वृद्धि गर्ने छ, जसका कारण हरितगृह ग्यास उत्सर्जन हुने छ, जसले ओजोन तहमा क्षति पु¥याउने छ । अस्वाभाविक रूपमा तीव्र गतिको आँधी आउने छ, जुन आँधीको प्रकोप हाल विश्वव्यापी रूपमा देखिन थालेको छ । जलवायु परिवर्तनकै कारण उच्च खडेरीको सम्भावना बढ्ने छ । समयमा पानी नपरेर खाद्य उत्पादनमा नकारात्मक प्रभाव पर्ने निश्चित छ । संसारभरका समुद्रको सतह बढ्ने छ । यदि अन्टार्टिकाको हिउँ पग्लँदै गयो भने विश्वभरका समुद्री किनारका सहरको अस्तित्व लोप हुने छ । जलवायु परिवर्तनको असरले कैयौँ प्रजाति पृथ्वीबाट लोप हुने छन् । खाद्य भण्डार कम हुने र मानव जीवनका लागि पर्याप्त खानेकुराको अभाव हुने छ । मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने छ । गरिबीले मानिसलाई आफ्नो वासस्थानबाट विस्थापित गर्ने छ । यति गम्भीर विषयलाई समेत विश्वका शक्तिशाली राष्ट्रले गम्भीर रूपमा लिएको भने देखिँदैन ।
जहाँसम्म नेपालको प्रसङ्ग छ, नेपाल यसै पनि जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको र भोलिका दिनमा हुन सक्ने मुलुक हो । नेपाल भौगोलिक विविधता भएको मुुलुक हो । यहाँ करिब पाँच हजार नदीनाला छन् । कैयौँ हिमनदी हिमालको काखबाट बगिरहेका छन् । जलवायु परिवर्तन हुने क्रम रोकिएन भने नेपालका कैयौँ हिमताल फुट्ने र बाढीको प्रकोप निम्तिने निश्चित छ । अहिले पनि नेपालको तापक्रम ०.०६ डिग्री सेल्सियसका दरले बर्सेनि बढिरहेको अनुमान छ । यो क्रम रहिरह्यो भने सन् २०३० सम्म नेपालको तापक्रम १.७ डिग्री सेल्सियससम्म बढ्ने आकलन गरिएको छ । यदि अन्तर्राष्ट्रिय मौसम वर्ष २०१० को तथ्याङ्क लिने हो भने विश्वको तापक्रम ०.५३ डिगी सेन्टिग्रेटले बढिरहेको छ । हिमपहाडमा हिउँ जम्न सकेन भने भोलि नेपालका हिउँपहाड नाङ्गा पहाडमा रूपान्तरित हुने छन्, जसले गर्दा हजारौँ हिमतालको भविष्य समाप्त हुने छ । अनि कृषिका लागि चाहिने सिँचाइ, जलविद्युत्, पिउने पानीको अभाव भोलिको पुस्ताले भोग्नु पर्ने छ ।
केही वर्षदेखि नेपालको मौसमी चक्र नै असन्तुलित र अनिश्चित बनेको छ । पानी आवश्यक पर्ने समयमा पानीको अभाव हुन्छ । हिउँदमा पनि आवश्यक वर्षा हुन सकेन । यसले गर्दा अहिले काठमाडौँको मात्र होइन, नेपालका प्रत्येक ठाउँको तापक्रम बढेको छ । काठमाडौँ, पोखरालगायत ठाउँमा तुवाँलोको समस्या देखिन थालेको छ । नेपालको पर्यटकीय सहर पोखरामा तुवाँलोका कारण उडानसमेत अवरुद्ध हुन पुगेका छन् ।
तराईमा केही वर्षअघि आएको आँधीले ठुलो क्षति पु¥यायो । जलवायु परिवर्तनकै असरले केही वर्षदेखि डेङ्गुलगायत महामारी फैलिने क्रम तीव्र छ । तापक्रम एक्कासि बढ्ने र घट्ने जस्ता समस्या देखिएका छन् । हावाहुरी जस्ता कारणले डढेलो फैलिन गएको छ ।
जलवायु परिवर्तनले वातावरणीय प्रभाव, हिमताल पग्लने सम्भावना, महामारी, खडेरी जस्ता समस्याले नेपाललाई पिरोल्ने निश्चित छ, जसका लागि नेपाल जस्तो विकासोन्मुख देशले आफ्नो स्रोतसाधनले जलवायु परिवर्तनको एक प्रकारको प्रकोपलाई नियन्त्रण र सन्तुलन गर्न गाह्रो हुन्छ । त्यस्ता विषयमा अन्तर्राष्ट्रिय रूपमा गम्भीर कूटनीतिक पहल जरुरी छ । कूटनीतिक पहल गरी क्षतिपूर्ति लिने र जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण र सन्तुलित गर्ने पूर्वाधारको निर्माणमा अग्रसर हुनु् नै आजको आवश्यकता हो । यस्ता गम्भीर विषयमा पहल गर्न अब ढिला गर्नु हुँदैन ।