• १३ मंसिर २०८१, बिहिबार

द्वन्द्वपीडित महिला र बालिकाको पहिचानका लागि अभिमुखीकरण

blog

कावासोतीमा द्वन्द्वपीडित महिला र बालिकाको पहिचानका लागि गरिएको अभिमुखीकरण । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, जेठ ३ गते । 
नवलपुरमा पहिलो पटक द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि अभिमुखीकरण गरिएको छ । महिला शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाका अन्तर्वस्तु जिल्ला निर्देशक समिति तथा पालिका स्तरका उपसमितिका सदस्यहरूलाई अभिमुखीकरण दिइएको हो ।

कार्यक्रममा द्वन्द्वपीडित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देलले जिल्लामा अहिलेसम्म पनि यकिन तथ्याङ्क नरहेको र अझैपनि पीडित महिलाहरूले न्याय पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले स्मारक निर्माणलगायत पीडितको पक्षमा गर्नुपर्ने कामबारे विभिन्न माग राख्नुभएको थियो । स्थानीय सरकारले छुटेका द्वन्द्वपीडितहरूको डिजिटल अभिमुखीकरण गरी सेवा सुविधासहितको परिचयपत्र उपलब्ध गराउनुपर्ने माग आफूहरूको रहेको बताउनुभयो । यसैगरी द्वन्द्वपीडित यौनजन्य हिंसा र यातानाबाट पीडित, घाइते, अङ्गभङ्ग तथा मानसिक  रूपमा  समेत अशक्त भएका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुनुपर्ने कार्यक्रममा सहभागी द्वन्द्वपीडित परिवारहरुले बताएका छन् ।

जिल्ला निर्देशक समिति संयोजक एवम् जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले द्वन्द्व प्रभावितहरूको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले यस विषयमा अन्तर पालिका बैठकमा एजेण्डाका रूपमा प्रस्तुत गर्ने समेत बताउनुभयो ।

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा महिला र बालबालिका यौन हिंसामा परेका कयन उदाहरण रहेको उल्लेख गर्नुहुँदै उनीहरूलाई समाजमा स्थापित गर्न आफूहरू अग्रसर रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जिल्लामा अहिले पनि सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको यकिन विवरण एवम् तथ्याङ्क जिल्लामा प्राप्त हुन नसकेको बताउँदै त्यसको खोजी भइरहेको बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकाहरूमा समेत उपसमिति गठन गरी जानकारी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा द स्टोरी किचनका अध्यक्ष जया लुइँटेलले द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता सम्बोधन गर्नुहुँदै सरोकारका विषयमा अर्थपूर्ण सहभागिता एवम् आत्म सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रस्ताव कार्यान्वयनका लागि तीन वर्षे दोस्रो राष्ट्रिय कार्ययोजना २०७९ सालमा निर्माण गरिएको थियो । यसअघि जिल्लामा ३२ सदस्यीय जिल्ला निर्देशक समिति गठन गरिएको थियो । पालिका स्तरमा एकमात्र पालिका गैँडाकोट नगरपालिकामा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र आवश्यकता पहिचान उप समिति गठन भइसकेको छ । द्वन्द्वपीडित महिलाको आवश्यकता पहिचानका लागि नवलपुरमा युरोपियन युनियनको आर्थिक सहयोगमा द स्टोरी किचनको नेतृत्व र विजय विकास केन्द्रको सहजीकरणमा न्यायका लागि साहस ३.० कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।