फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ३ गते । एकतिस वर्षअघिको जेठ ३ दिउँसोसम्म अरू दिनभन्दा भिन्न थिएन । साँझको घटनाले त्यसलाई कालो दिन बनाइदियो । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित सवार जिप दासढुङ्गा त्रिशूलीमा खस्यो । एमाले कास्की अधिवेशनलाई सम्बोधन गरी चितवन जाँदै गर्दा त्यसबेलाका चर्चित नेता भण्डारी र आश्रितको दुर्घटनामा निधन भएको थियो । त्यसयता जेठ ३ ले तुलसा पाण्डेजस्तै धेरै नेपालीलाई तर्साइरहन्छ ।
पोखरा आउँदा सधैँजसो भण्डारी एमाले नेता एवं पूर्वमन्त्री हरिप्रसाद पाण्डेको घरमा बस्नुहुन्थ्यो । हरिप्रसादकी पत्नी तुलसाले दुर्घटनाअघिको जेठ १ को साँझदेखि ३ गते दिउँसोसम्मको खाना उहाँहरूलाई घरमै खुवाउनुभएको थियो । पोखराबाट चितवन प्रस्थान गर्नुअघि पाण्डेले टोलीका सबैलाई टीका लगाइदिनुभएको थियो ।
टीका लगाउने आफ्नो पालोमा भण्डारी हाँसेको उहाँले अझै भुल्नुभएको छैन । ‘मदन बाबु हा..हा.. गरेर मज्जाले हाँस्नुभयो । किन हाँस्नुभाको भन्दा “भाउजू, हजुरको तरिका देखेर नि । आमाजस्तै सबै ख्याल गर्नुहुन्छ,” भन्नुभयो । पाण्डे सम्झनुहुन्छ, “अरू बेला पनि सम्झिइरहन्छु । तर यो जेठ ३ ले मलाई हरेक साल तर्साउँछ ।”
त्यसबेला एमाले कास्की सचिव रहनुभएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले साँझ घटनाको जानकारी पाउनेबित्तिकै अधिवेशन छोट्याएर खोजीमा केन्द्रित भएको उल्लेख गर्नुभयो । “४ गते बिहान जानूस् भनेको थिएँ, दुई विद्यार्थी नेतालाई सँगै पठाउन पनि खोजेको थिएँ । उहाँले पर्दैन भन्नुभयो,” अधिकारीले सुनाउनुभयो । भण्डारीको जीवनबाट राजनीतिक र सामाजिक जीवनका सबै पक्षमा अहिलेको पुस्ताले पाठ सिक्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड छ ।
“उहाँका सबै कुरा अनुसरण गर्नुपर्ने खालका छन्, नसिक्नुपर्ने कुरा केही थिएनन् । सांस्कृतिक, आर्थिक, राजनीतिक, समाजवाद, क्रान्तिका विचार सबै सबै अनुकरणीय छन्,” उहाँ भन्नुहुन्छ । भण्डारी र आश्रितसँगै जिपमा तनहुँसम्म जानुभएका ऋषि कट्टेललाई पोखराबाट दमौलीसम्म वैचारिक बहस र त्यहाँबाट गोरखामा पार्टी निर्माणबारे छलफल भएको उहाँको सम्झना छ ।
दासढुङ्गा घटनापछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयसम्म सदन र सडकमा आन्दोलन गरेको थियो । भण्डारी २०४८ को आमचुनावमा काठमाडौँ क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराएर सांसद चुनिनुभएको थियो । अद्भुत वाक् कलाका धनी भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले मार्गदर्शक सिद्धान्त मानेको छ ।
घटनापछि छानबिनका लागि विभिन्न आयोग बने । केही महिनापछि सरकारले सर्वोच्चका न्यायाधीशको अध्यक्षतामा बनाएको न्यायिक छानबिन आयोगले चालक लामाको लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकाल्यो । त्यसलाई नकार्दै एमालेले नेता केपी शर्मा ओलीको संयोजकत्वमा समिति बनायो भने जनस्तरबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोग बन्यो । तुलाधर आयोगले दासढुङ्गा काण्डलाई षड्यन्त्रै ठहर गर्यो ।
जिपका चालक लामा चार वर्ष जेल बसी २०५४ मा छुट्नुभएको थियो । लामाको २०६० साउनमा कीर्तिपुरमा गोली हानी हत्या भयो । भण्डारी र आश्रितको मृत्युजस्तै लामाको मृत्युका कारण र हत्यारा पत्ता लागेन । घटनाका एक मात्र साक्षीको समेत हत्या भएपछि दासढुङ्गा सधैँ रहस्यै बनेको छ ।