• १२ साउन २०८१, शनिबार

स्यान्टु ओलम्पिकमा छनोट

blog

टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ ।

काठमाडौँ, जेठ २ गते । नेपालका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक–२०२४ मा छनोट हुनुभएको छ ।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सम्पन्न दक्षिण एसियाली छनोट प्रतियोगिताको फाइनलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ को सेटमा हराउँदै ओलम्पिक यात्रा तय गर्नुभएको हो । 

स्यान्टुले ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ को जित निकाल्नुभएको थियो । यससँगै स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । 

सेमिफाइनलमा स्यान्टुले श्रीलङ्का चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइलालमा स्थान बनाउनुभएको थियो । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी पनि बन्नुभएको छ । यसअघि तेक्वान्दोकी सँगिना वैद्य र तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेल्नुभएको थियो । 

छनोटमा महिला एकलतर्फ नेपालकी इभाना थापा श्रीलङ्काकी बन्दारा बिमान्दीसँग पराजित हुँदा सेमिफाइनलबाटै बाहिरिनुभयो । महिला एकलमा माल्दिभ्सकी खेलाडी फातिमाथ अलि छनोट हुनुभएको छ ।  फाइनलमा फातिमाथले विमान्डे बन्दरालाई ४–१ को सेटमा हराउनुभयो । 

प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काको सहभागिता रहेको थियो । भारत माथिल्लो स्तरमा रहेकोले सहभागी भएको थिएन ।