रमेश पौडेल
पोखरा, जेठ १ गते । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा “मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने नारासहित मेलमिलाप सम्बन्धी पुनः ताजगी तालिम सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको पोखरा महानगरपालिका कार्यवाहक प्रमुख एवम् न्यायिक समिति संयोजक मञ्जुुदेवी गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले पोखरा महानगरपालिका न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्तालगायत सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सरकार बन्नका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुनुपर्ने बताउँदै उहाँले सरकारको न्यायपालिकाका रूपमा न्यायिक समिति रहेको उल्लेख गर्दै विवाद समाधानका लागि मेलमिलापकर्ताहरू इमान्दारीताका साथ लाग्नुपर्ने बताउनुभयो ।
कार्यवाहक प्रमुख गुरुङले भन्नुभयो, ‘‘विवादले फाटेका मनहरूलाई मेलमिलापका माध्यबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताहरूले गर्ने भएकाले तालिमको आयोजना गरिएको हो ।’’ उहाँले स्थानीय तहमा उत्पन्न हुने विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले तालिमबाट नयाँ कुराहरू सिक्ने अवर प्राप्त गर्ने भएकाले यस्ता तालिमहरू फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष एवम् एमाले दलका नेता राधिका शाही योगीले तालिमले सशक्त बनाउने र मेलमिलाप गराउन महत्त्वपूर्ण हुने बताउनुभयो । महानगर न्यायिक समिति सदस्यहरू कालिदास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसको तर्फबाट महानगरका दलका नेता एवम् वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, न्यायिक समिति सदस्य रजनी परियार, मेलमिलापकर्ताद्धय जमुना पराजुली, केशवराज बराल र महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोमनाथ लम्सालले मेलमिलापकर्ताको भूमिकाका बारेमा बोल्नुभएको थियो ।
मेलमिलापकर्ता संयोजक सोमनाथ लम्सालले पोखरा महानगरमा हाल १६९ जना मेलमिलापकर्ता सूचीकृत भएको बताउनुभयो । उहाँले पहिलो चरणमा १ देखि १८ नम्बर वडाका मेलमिलापकर्तालाई पुनः ताजगी तालिम सञ्चालन गरिएको र बाँकी वडाका मेलमिलापकर्तालाई जेठ ९ देखि ११ गतेसम्म दोस्रो चरणको तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।