• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित

blog

रन बटुल्दै एपिएफका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख ३१ गते । साबिक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो । 

जितसँगै एपिएफले दुई खेलमा चार अङ्क बनाएको छ । एपिएफले पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले हराएको थियो । दोस्रो हार खेपेको बागमती अङ्कविहीन छ । पहिलो खेलमा बागमती आयोजक ललितपुर मेयर–११ सँग सात विकेटले पराजित भएको थियो ।

जितका लागि बागमतीले दिएको ७४ रनको लक्ष्य एपिएफले ११ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ३५ रन बनाउनुभयो । इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमति ऐरीले अविजित १० रन जोड्नुभयो । बलिङमा बागमतीकी खुसी डङ्गोलले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । बागमतीका लागि हेनिशा गुरुङले ३१ र खुसी डङ्गोलले अविजित १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा एपिफकी करुणा भण्डारीले चार विकेट लिनुभयो । सीता रानामगरले दुई विकेट झार्नुभयो । यस्तै सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १९ रनले हराएको छ ।