• ११ मंसिर २०८१, मङ्गलबार

पत्रकारिताको वैकल्पिक चौतारी

blog

विचार र अभिव्यक्ति स्वतन्त्रताको सशक्त एवं संस्थागत माध्यम मानिने पत्रकारिता क्षेत्र मूलतः तथ्यमा आधारित समाचार, स्वतन्त्र विश्लेषण, निष्षक्षता, सार्वजनिक उत्तरदायित्व, व्यक्तिगत स्वतन्त्रता तथा हितको सम्मान जस्ता व्यावसायिक मूल्य र मान्यताबाट स्थापित भएको हो । स्वतन्त्र प्रेसमा राज्यबाट मात्र नभई प्रकाशक समेतबाट हस्तक्षेप नहुने गरी सम्पादकीय स्वतन्त्रता रहेको हुन्छ भन्ने मान्यता पनि छ । वार्षिक रूपमा प्रकाशित हुने गरेको प्रेस स्वतन्त्रता सूचकले पनि अन्य सूचकसँगै सम्पादकीय स्वतन्त्रता, प्रकाशक तथा सम्पादकको सरकार र राजनीतिक दलसँगको असंलग्नता एवं व्यावसायिक मूल्य मान्यताको पालनालाई आफ्नो अनुसन्धान विधिमा समेटेको देखिन्छ । 

पछिल्ला केही वर्षमा सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकाससँगै उपस्थिति बढाउँदै लगेको सामाजिक सञ्जालमा यसका प्रयोगकर्ताबाट पत्रकारिताको वर्तमान अभ्यासलाई यी मूल्य मान्यताको कसीमा तार्किक र तथ्यपरक ढङ्गले जाँचने व्रmम सुरु भएको छ । यसबाट पत्रकारिताका लागि एक खालको चुनौती र अवसर दुवै रहेको देखिन्छ । चुनौती यस अर्थमा कि पत्रकारिताले सामाजिक सञ्जालमा उठेका सवाललाई सम्बोधन गर्न आफ्नो अभ्यासलाई पुनरवलोकन गर्नुपर्ने भएको छ । अवसर यस अर्थमा कि यो क्षेत्रले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो पाठकको दायरा फराकिलो पार्ने सम्भावना झन् झन् बढ्दै गएको छ । 

प्रेस स्वतन्त्रता र पत्रकारिताको बदलिँदो माध्यम

प्रेस स्वन्त्रतता अभिव्यक्ति स्वतन्त्रताको सशक्त स्वरूप हो, यद्यपि अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रताभन्दा व्यापक छ । यसै क्रममा सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको खुला व्यापक र सहज पहुँच भएको माध्यम बनेको छ । त्यसैले आममानिसलाई आजभोलि सामाजिक सञ्जालले बढी आकर्षित गरेको अवस्था छ । सामाजिक सञ्जालले पत्रकारितालाई किनारा लाउने भयो भन्नुभन्दा पत्रकारिता क्षेत्रले सामाजिक सञ्जालसँगै बाँच्न सिकेमा पत्रकारिताको दिगो विकास सम्भव छ । सन् १७६६ मा स्विडेनको संसद्ले प्रेस स्वतन्त्रता ऐन पारित गरेदेखि सेन्सरसिपबिनाको स्वतन्त्र पत्रकारिताको जग बसेको अढाई शताब्दी भइसकेको छ । 

यसैबिच सन् १७७० देखि छापा माध्यमको पत्रिका, सन् १९२० देखि रेडियो, सन् १९३६ बाट टेलिभिजन समाचार र सन् १९९० को दशकमा वेब ब्राउजरको उपस्थिति बढ्दै जाँदा अनलाई पत्रिकाको सुरु हुनुबाट पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधि आत्मसात् गर्दै गएको विकासव्रmम देखिन्छ । पत्रकारिताको प्राविधिक माध्यम बदलिने क्रम सकिएको छैन । छापा माध्यम रेडियो र टेलिभजन संस्थाहरूले पछिल्ला वर्षमा अनलाइन संस्करणसमेतको मिश्रित माध्यम प्रयोग गरेको देखिन्छ भने कतिपय त विशुद्ध अनलाइन पत्रिकाका रूपमा रहेका छन् ।

मिडियाको परिवर्तित स्वरूप र बजार हिस्सा

विश्वभर छापा माध्यमका पत्रपत्रिकाको बजार हिस्सा घट्दै गएको छ तर हल्ला भए अनुरूप हैन । यो अझै पनि डिजिटल माध्यमका पत्रपत्रिकाभन्दा धेरै नै बढी छ । नेपालको पत्रकारिता क्षेत्रमा मिडिया धरासायी बन्दै गएको विषय बहसमा छ । बजारको प्रवृत्ति हेर्दा पनि छापा पत्रपत्रिकाको वितरण घट्दै र डिजिटल संस्करणका पत्रपत्रिकाको पाठक बढ्दै गएको छ । छापा तथा प्रसारण क्षेत्रका सञ्चार गृहले पत्रकार तथा कर्मचारी कटौती गर्ने र हटाउने दुवै प्रवृत्ति पनि बढ्दै गएको छ । श्रमजीवी पत्रकारका गुनासो तथा उजुरीको सङ्ख्यामा देखिने गरी वृद्धि हुँदै गएको छ । परम्परागत सञ्चार गृहको विज्ञापन आम्दानी घट्दै गएको सुनिन्छ । व्यावसायिक पत्रकारिताका क्षेत्रमा स्थापित विश्वका धेरैजसो मुलुकमा छापा माध्यमका पत्रपत्रिकाको पाठक सङ्ख्या घट्दै गए पनि उनीहरूबाट छापा र डिजिटलको मिश्रित सामग्री तथा बजार रणनीतिको माध्यमले आफ्नो आय बढाउँदै लगेका छन् । 

बेलायतमा विगत १५ वर्षदेखि छापा माध्यमका पत्रपत्रिकाको वितरण प्रतिवर्ष १५ प्रतिशतले घट्दै गएको बुझिन्छ । आइसिआरएका अनुसार भारतमा सन् २०१६ यता मिडिया व्यवसायमा छापा मिडियाको हिस्सा लगातार घट्दो छ भने डिजिटल माध्यमको लगातार बढ्दो छ । त्यहाँ सन् २०१६ मा मिडिया व्यवसायको २३ प्रतिशत बजार हिस्सा ओगट्ने छापा माध्यम सन् २०२२ मा १२ प्रतिशतमा खुम्चिन पुगेको देखिन्छ । यो अवधिमा भारतमा टेलिभिजनको आम्दानी भने लगातार बढ्दो छ ।

बलियो औद्योगिक तथा व्यावसायिक संरचना, ठुलो विज्ञापन बजार, प्रकाशन तथा प्रसारण संस्थाको वैज्ञानिक वर्गीकरण र सञ्चार गृहको कुशल रणनीति एवं व्यवस्थापनका कारण यी मुलुकमा मिडियाले आफ्नो आयलाई कायम राख्न र बढाउँदै लैजान सकेका छन् ।

छापा तथा प्रसारण संस्थाहरूले डिजिटल संस्करणसहितको मिश्रित प्रणाली अपनाउने र सामाजिक सञ्जाल तथा डिजिटल पलेटफर्मका माध्यम समेतबाट आफ्ना पाठक तथा श्रोताको दायरा विस्तार गर्दै लगेका छन् । यसबाट उनीहरूले थप विज्ञापन पाउने र कुल आयमा वृद्धि गर्दै लगेका छन् । बेलायतको गार्जियन पत्रिकाले त पत्रिकाको आकार बर्लिनरबाट ट्याब्लोइडमा परिवर्तन गर्दा प्रभावकारी हुने निष्कर्ष निकाल्दै सोही अनुरूप प्रसाशन गरी वितरण वृद्धि गरेको छ । गार्डियनको डिजिटल संस्करणको आम्दानी पनि छापा संंस्करणको भन्दा बढी छ । सन् २०१९ मा यसको डिजिटल र छापा संस्करणका आम्दनी क्रमशः ५६ प्रतिशत र ४३ प्रतिशत रहे । यसले पाठकबाट हुने आयसमेत वृद्धि गरेको छ । सन् २०१५–१६ मा पाठकबाट प्राप्त आय कुल आयको १८ प्रतिशत मात्र भएकोमा सन् २०१८–१९ मा यस्तो आयलाई २८ प्रतिशत पु¥याएको छ । 

भारतमा डिजिटल माध्यमका पत्रपत्रिकाको प्रयोगकर्ता वार्षिक रूपमा बढ्दो छ । सन् २०२४ मा कुल पाठकमध्ये डिजिटल माध्यमका पत्रपत्रिकाका पाठकको सङ्ख्या १३.४ प्रतिशत रहने अनुमान छ । विश्वभरमा भने यो सङ्ख्या २७.४ प्रतिशत हुने अनुमान छ । भारतमा व्यावसायिक संस्थाहरूले विज्ञापनमा खर्च बढाउँदै लगेका छन् । द इकोनोमिक टाइम्सका अनुसार लोकसभा चुनावले थप विज्ञापन बढ्ने भई भारतमा सन् २०२४ मा छापा पत्रपत्रिकाको आय १३ देखि १५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण छ ।

सामाजिक सञ्जालले दिएको चुनौती र अवसर

स्टाटिस्टाका अनुसार सन् २०२४ अप्रिलमा फेसबुक तीन अर्ब छ करोड, यूट्युब दुई अर्ब ५० करोड, इन्सटाग्राम र ह्वाट्सएप प्रत्येकको दुई अर्ब, मेसेन्जर एक अर्ब र ट्विटरको ६१ करोड मासिक सव्रिmय प्रयोगकर्ता देखिएका छन् । स्मार्ट इनसाइट्सका अनुसार विश्व जनसङ्ख्याको सरदर ६३ प्रतिशतले सामाजिक सञ्जाल प्रयोगकर्ता भएको र दैनिक औसत दुई घण्टा २३ मिनेट प्रयोग गर्ने गरेको अनुमान गरेको छ । यी सामाजिक सञ्जालहरूले नागरिक पत्रकारिताका लागि ठाउँ दिएका छन् । व्यावसायिक पत्रकारले नल्याएको नसकेको वा ल्याउन नचाहेको तर समाचार बन्न सक्ने सामग्रीलाई जो कोहीले पनि सामाजिक सञ्जालका माध्यमबाट आमपाठकसम्म पुर्‍याउन सक्छन् । सामाजिक सञ्जालले पत्रकारिताको क्षेत्रलाई फराकिलो बनाएको छ । 

आमपाठकसम्म परम्परागत र व्यावसायिक पत्रकारिताबाट पुग्न नसकेका समाचार सामग्रीलाई सञ्जालले पु¥याउन सहयोग गरेको छ । नागरिक पत्रकारिताका लागि मात्र नभई परम्परागत सञ्चार माध्यमलाई समेत यसले डिजिटल प्लेटफर्म उपलब्ध गराई थप पाठकसम्म पुग्न सहयोग पु¥याएको छ । अझ कतिपय व्यावसायिकले परम्परागत सञ्चार माध्यम छाड्दै सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्मको प्रयोग गरी स्वतन्त्र पत्रकारिताका लागि पोडकाष्ट गर्न सुरु गरेको देखिन्छ । विदेशी मात्र नभई नेपाली पत्रकार पनि यसतर्फ क्रमशः अगाडि बढेको देखिन्छ ।

नेपालको सन्दर्भ

गोरखापत्रको निरन्तरतालाई लिने हो भने नेपालमा छापा माध्यमका पत्रकारिताले १२२ वर्षको इतिहास पूरा गरेको छ । नेपाल पत्रकार महासङ्घमा देशमा तेह्र हजारभन्दा बढी पत्रकार रहेको विवरण छ । सूचना तथा प्रसारण विभागको अभिलेखमा चार हजार चार सय अनलाइन पत्रिका, तेह्र सय एफएम रेडियो, दुई सयभन्दा बढी टेलिभजन र पत्रपत्रिका वितरण सम्परीक्षण समितिमा लगभग एक हजार छापा–पत्रिका अभिलेखीकृत छन् । यसरी लगभग सात हजारको सङ्ख्यामा मिडिया सञ्चालनमा रहेको देखिन्छ । यो सङ्ख्या हेर्दा एउटा मिडिया बराबर लगभग दुई जना पत्रकार पर्दा रहेछन् । विशाल विज्ञापनका बजार भएका औद्योगिक मुलुक तथा भारत र औद्योगिक आधार बलियो बनाउँदै लगेका मुलुकमा मिडियाको सङ्ख्या नेपालको भन्दा सन्तुलित रहेको देखिन्छ । 

नेपालमा प्रकाशित सामग्रीको गुणस्तर, संस्थागत आम्दानी तथा पत्रकारको पारिश्रमिकका लागि मिडियाको ठुलो सङ्ख्या चुनौती बनेको देखिन्छ । लोककल्याणकारी विज्ञापनले मात्र मिडियाको सामु उपस्थित चुनौतीको सामना हुन सक्ने अवस्था छैन । त्यसमाथि सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले परम्पारगत सञ्चार माध्यमको उपस्थितिलाई चुनौती दिएको अवस्था छ । तथापि सञ्चार संस्थाहरू अनलाइन संस्करण तथा डिजिटल प्लेटफर्मको माध्यमबाट नयाँ नयाँ पाठकसम्म पुग्ने गरेको पनि देखिन्छ । पत्रकारिता र प्रेस स्वतन्त्रताको परिभाषा पहिलेभन्दा फराकिलो भएको बुझाइ नेपालका अधिकांश स्थापित पत्रकारमा देखिन्छ ।

सामाजिक सञ्जाल पत्रकारिताको वैकल्पिक चौतारी बन्दै छ । सामाजिक सञ्जालले सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको कसीमा पत्रकारिताका सामग्रीको तथ्य जाँच गर्न सुुरु गरेर मूलधारका मिडियालाई विश्वव्यापी चुनौती दिएको छ । यो चुनौती गाजामा भइरहेको ज्यादतीको सन्दर्भमा होस् वा रुस युक्रेन युद्धमा मूलधारका मिडियाबाट एकपक्षीय सामग्री प्रकाशन वा प्रसारण भइरहेको भनी सामाजिक सञ्जालमार्फत आइरहेका छन् । मूलधारका मिडियामा ठाउँ नपाएपछि अमेरिकी पत्रकार ट्रकर कार्लसनले हालसालै रुसी राष्ट्रपतिको अन्तर्वार्ता ट्विटर (एक्स) मार्फत ल्याउनु र बहत्तर घण्टामा बिस करोड बढी श्रोता पाउनुले पनि परम्परागत मिडियामा ठाउँ नपाउनेलाई अझ बढी मानिससम्म पुग्नलाई सामाजिक सञ्जाल भएको सन्देश दिएको छ । 

भारतमा मूलधारका टेलिभिजन च्यानलले पत्रकारिताको पेसागत धर्मलाई व्यापारिक स्वार्थमा सौदा गरी एकपक्षीय प्रोपोगान्डा फैलाए भनेर केही पत्रकारले पोडकास्ट सुरु गरी पत्रकारिताको वैकल्पिक बाटो रोजेको देखिन्छ । नेपालमै पनि मूलधारका मिडिया छाडेर पोडकास्टबाट पत्रकारितालाई निरन्तरता दिनेको सङ्ख्या बढ्दै गएको देखिन्छ । कृत्रिम बौद्धिकताको विपक्षमा रहेका धनाड्य इलोन मस्कले पछि आफैँ यसको उपयोग गर्न पुगे । यस सन्दर्भमा उनले जसलाई पराजित गर्न नसकिन्न, त्यसमा सामेल होउ भनेको विषय पत्रकारितामा पनि प्रविधि आत्मसात् गर्न सान्दर्भिक देखिन्छ । नेपालमा पनि पत्रकारिताको वैकल्पिक चौतारीका रूपमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको देखिन्छ । 

  

Author

शङ्कर नेपाल