• ११ मंसिर २०८१, मङ्गलबार

भौतिक परीक्षणका समस्या

blog

सरकारी सम्पत्तिको प्रचलित कानुनबमोजिम अभिलेख राख्नु पर्छ । हानिनोक्सानी नहुने गरी उचित संरक्षण तथा मर्मतसम्भार गर्नु पर्छ । खर्च भएबमोजिम भौतिक प्रगति भएको छ कि छैन जाँच गर्नु पर्छ । अधिकारप्राप्त अधिकारीको स्वीकृतिबाट जिन्सी सामग्री खरिद भएको हो होइन यो पनि हेर्नु पर्छ । कार्यालयमा प्राप्त जिन्सी सामग्रीको प्राप्ति र निकासीको उचित अभिलेख राख्नु पर्छ । खरिद गरिएका जिन्सी सामान उचित रूपमा उपयोग गर्नु पर्छ । यही परीक्षणलाई भौतिक परीक्षण भनिन्छ । लेखा परीक्षण जत्तिकै भौतिक परीक्षणको पनि महत्व रहेको छ । 

कार्यालयको कामकाजलाई नियमितता दिन, संस्थाको दक्षता अभिवृद्धि गर्न तथा यसका क्रियाकलापहरूलाई प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिका जिन्सी मालसामान खरिद गरिएका हुन्छन् । यस्ता जिन्सी मालसामानहरू सस्ता, महँगा, कमसल, नासिएर जाने तथा दीर्घकालसम्म टिक्ने हुन सक्छन् । कार्यालयको प्रकृति अनुसार जुनसुकै सामान पनि कार्यालय सञ्चालन तथा व्यवस्थापनमा समान महत्वको रहने हुँदा यस्ता सामानको यथोचित संरक्षण पनि हुनु पर्छ । 

जिन्सी मालसामान सधैँ नयाँ र उपयोग गर्न योग्य हुन्छन् भन्ने छैन । कार्यालयमा पुराना र उपयोगमा ल्याउन नसकिने अर्थात् जीर्ण अवस्थामा रहेका मालसामान के कति छन्, उपलब्ध जिन्सी सामानको व्यवस्थापन राम्रोसँग गरिएको छ छैन, स्टोरमा अद्यावधिक कागजात ठिक दुरुस्त अवस्थामा राखिएका छन् कि छैनन् भनी वार्षिक रूपमा यथोचित विश्लेषण भौतिक परीक्षणमा गर्ने गरिन्छ । भौतिक परीक्षण गर्दा कार्यालयमा भएका मालसामानको निरीक्षण, परीक्षण, अनुगमन, मूल्याङ्कन, चेकजाँच तथा अन्य विधिबाट सामान यथोचित रूपमा उपयोग भएको छ कि छैन भनी प्रत्यक्ष हेरिने गरिन्छ । 

विशेषतः आयोजना, परियोजना तथा प्राविधिक कार्यालयहरूमा भौतिक सामानको बढीभन्दा बढी प्रयोग हुन्छ । यस्ता कार्यालयमा भौतिक सामानहरू व्यक्ति विशेषले अपचलन, दुरुपयोग तथा छलकपट गरी प्रयोग गर्ने गर्छन् । सामानहरूको ब्रान्डभन्दा फरक वा कमसल सामान ल्याउने र भुक्तानी गुणस्तरीय सामानको गर्ने गरिन्छ । कमिसनका लागि अनावश्यक सामान खरिद गर्ने, अपूर्तिकर्तासँग मिलेमतो गरी सामानको दुरुपयोग गर्ने, भ्रष्टाचारको सेटिङ गर्न आफन्तसँग बढीभन्दा बढी जिन्सी सामग्रीको आपूर्ति गराउने, सामान गायब गर्ने, घरायसी प्रयोजनका लागि उपयोग गर्ने, गुणस्तरको जाँच नगर्ने, भौतिक परीक्षण गर्न आनाकानी गर्ने जस्ता समस्या रहेका छन् । 

आर्थिक स्रोतमा भ्रष्टाचार, अनियमितता र दुरुपयोग भए जस्तै कार्यालयका मालसामान पनि हिनामिना, अपचलन, अनियमितता, चोरी, चुहावट, दुरुपयोग तथा लापर्बाही हुने भएकाले कुनै पनि कार्यालयले आफूसँग भएका जिन्सी मालसामान कहाँ कस्तो अवस्थामा छन् भनी वार्षिक रूपमा भौतिक परीक्षण गरी प्रतिवेदन तयार गर्नु पर्छ । हरेक सार्वजनिक संस्थाले आफ्नो सबै प्रकारका जिन्सी मालसामानहरू के कस्तो अवस्थामा छन्, मर्मत तथा लिलाम गर्नुपर्ने के कति सामान छन्, बेकम्मा तथा काम नदिने जिन्सी मालसामान के कति छन्, सामानहरू उपयोगमा छन् कि छैनन्, दुरुपयोग भएका छन् कि छैनन् भनी भौतिक परीक्षण गर्नु पर्छ । लेखा परीक्षणले संस्थाको आर्थिक अवस्थाको जानकारी दिए जस्तै भौतिक परीक्षणले भौतिक सम्पत्ति तथा जिन्सी मालसामानको अवस्थाको जानकारी दिन्छ । 

सरकारी तथा गैरसरकारी कार्यालयको ऐन, कानुन, नियम तथा विनियममा स्थिर सम्पत्ति तथा जिन्सी सामानको भौतिक परीक्षण गरी माथिल्लो निकायमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ तर अस्पष्ट सरकारी नीति, समन्वयको अभाव, व्यवस्थापकीय द्वन्द्व, दक्ष कर्मचारीको समस्या एवं अपारदर्शिता जस्ता समस्याले गर्दा यसको अभ्यास कम भएको पाइन्छ । वार्षिक रूपमा भौतिक परीक्षण गर्ने हो भने सिंहदरबारभित्र तथा बाहिर रहेका सरकारी र प्राविधिक कार्यालयको प्राङ्गणभित्र यत्रतत्र छरिएर रहेका थोत्रा र बिग्रेर प्रयोगमा नआएका गाडी, मोटरसाइकल, डोजर, एम्बुलेन्स, ट्रान्सफर्मर, जेनेरेटर, वाइरिङ तार, विद्युतीय उपकरण तथा मेसिनरी औजारको संरक्षण गर्न सकिन्थ्यो । त्यस्ता कतिपय औजार घाँसपातले पुरिसकिएको अवस्था छ । 

कतिपय कार्यालयमा जिन्सी सामान खरिद गर्ने तर प्रयोग नगरी दुरुपयोग गरिएको पाइन्छ । थोत्रा, काम नलाग्ने, प्रयोगमा नआएका गाडी, मोटरसाइकल, हिटर, गिजर, ल्यापटप, कम्प्युटर तथा मेसिनरीलगायत वस्तु जिन्सीसामान बेवारिसे अवस्थामा देखिन्छन् । राम्रा सामानहरू पनि कहाँ, कसरी, कसले प्रयोगमा ल्याएको छ भनी हेक्का राखिएको पाइँदैन । प्रयोगमा ल्याउन सकिने र राम्रा अवस्थाका सामान पुराना भए भन्दै नयाँ खरिद गरी आर्थिक चलखेल भएको पनि सुन्नमा पाइन्छ । 

कार्यालयमा प्राविधिक तथा अप्राविधिक जिन्सी सामान कस्तो अवस्थमा छन्, आर्थिक वर्षमा के कति सामानहरू खरिद गरिए, ती सामानहरू कस्तो अवस्थामा छन्, कार्यालयलाई सामान आवश्यकता भएरै खरिद गरिएका हुन् कि होइनन्, सामान कसले उपयोग गरिरहेको छ, सामानहरू खरिद गर्दा पुराना सामानहरू साँच्चै पुराना भएर खरिद गरियो कि मर्मत गरेर चलाउन सकिने हुँदाहुँदै खरिद गरियो भन्ने कुराको पनि यसमा परीक्षण हुन्छ । 

भौतिक परीक्षणको मुख्य उद्देश्य कार्यालयभित्र प्रवेश भएका जिन्सीको लगत कानुनबमोजिम राखिएको छ छैन, अपचलन तथा त्रुटिपूर्ण उपयोग भएको छ छैन तथा पर्याप्त मात्रामा नियन्त्रणका विधि अपनाइएको छ छैन भनी निश्चितता गर्नु हो । भौतिक परीक्षणमा जिन्सी मौज्दात कुन अवस्थामा छन्, सामग्रीहरू तोकिएको ब्रान्डका छन् छैनन्, मौज्दातमा रहेका सामानको करबिजकको अभिलेख दुरुस्त राखिएको छ छैन, पुँजीगत तथा चालु सामानको यथोचित रूपमा बुझिने गरी अभिलेख राखिएको छ छैन भन्ने कुरामा चेकजाँच गर्नु पर्छ । भौतिक परीक्षकले सामानको चोरी, ठगी र अग्नि बिमा गरिएको छ वा छैन भन्ने विषयमा समेत ध्यान दिनु पर्छ । 

नेपाल सरकारले भौतिक परीक्षणसम्बन्धी स्पष्ट नीति र संयन्त्रको विकास गरी नसकेको अवस्था रहेकाले यसमा अन्योल रहेको हो । नियिमत रूपमा भौतिक परीक्षण नभएकै कारण कतिपय निकायमा प्राविधिक जिन्सी मालसामान हिनामिना, दुरुपयोग र अपचलनसमेत भइरहेको छ । भाँचिएका, बिग्रिएका, टुटफुट भई नासिएका, हराएका जिन्सी मालसामानको रेकर्ड अध्यावधिकसमेत गरेको पाइन्न । यावत् समस्या समाधानका लागि एउटा मात्र उपाय भनेको व्यवस्थित रूपमा गरिने भौतिक परीक्षण हो ।   

Author

मित्रमणि पोखरेल