दोलखा समाचारदाता
दोलखा, वैशाख ३० गते । दोलखामा एकपछि अर्को गर्दै खुलेका पुस्तकालयमध्ये अधिकांंश बन्द भएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाको अभिलेखमा भेटिएका नौ वटामध्ये छ वटा बन्द भइसकेको बताइएको छ । अभिलेख अनुसार भीम पुस्तकालय दोलखा, सयपत्री पुस्तकालय काब्रे, महाकाली भगवती पुस्तकालय माटी, मदन आश्रित पुस्तकालय चरीकोट, महाकाली जनहित पुस्तकालय भीमेश्वर–९, गौरीशङ्कर सामुदायिक पुस्तकालय, ललित पुस्तकालय मेलुङ र कारागारमा एक पुस्तकालय खुलेका थिए ।
सयपत्री पुस्तकालय काबे्र र महाकाली जनहित पुस्तकालय भीमेश्वर–९ को अभिलेखमा भए पनि नामोनिशाना नै छैन । स्थानीय नै अनभिज्ञ रहेका छन् । महाकाली भगवती पुस्तकालय माटी २०४६ सालमा स्थापना भएको देखिन्छ । यसका केही अवशेष हालको भीमेश्वर नगरपालिका–५ को बिसुनटोल आधारभूत विद्यालयमा रहेको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम थापाले भन्नुभयो, “पुस्तक के कति थिए भन्ने यकिन त छैन । अहिले करिब दुई सय थान पुस्तक किराले काटेका र धमिरा लागेको अवस्थामा छन् । खासै अभिलेख पनि पाइँदैन ।”
मदन आश्रित पुस्तकालयका केही अवशेष नेकपा एमाले दोलखाको मनमोहन स्मृति प्रतिष्ठानको एक कोठामा देख्न पाइन्छ । बाहिरपट्टि पुस्तकालय लेखिएको कोठामा केही कम्युनिस्ट सिद्धान्तका पुस्तक छन् । कसरी र कहिले स्थापना भएको भन्ने कहीँ कतै उल्लेख छैन । जिल्लाको जेठो भनिएको भीम पुस्तकालय विसं २०१० मा स्थापना भई प्रसिद्धि कमाए पनि खासै कसैको चासो नभएकै बेला भूकम्पले भवन भत्किएपछि नामोनिशाना नभएर थला परेको पुस्तकालय आफ्नै जग्गामा पुनः भवन निर्माण हुन थालेको छ । चाँडै सञ्चालनमा आउने समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठको भनाइ छ ।
भूकम्पले भवन पूर्ण क्षति भयो । पुनर्निर्माणका लागि कसैको चासो नरहेकै बेला रूपा फाउन्डेसन काठमाडौँले पुस्तकालय भवन निर्माण सुरु गरेको हो । फाउन्डेसनको १५ लाख रुपियाँ लगानीमा दुई तले भवन निर्माण हुन थालेको छ । फाउन्डेसनका सल्लाहकारसमेत रहनुभएका श्रेष्ठका अनुसार निर्माणपछि वडालाई हस्तान्तरण गरिने भवनको भुइँ तला भाडामा लगाएर आएको भाडाले पुस्तकालय सञ्चालन गरिने र माथिल्लो तलामा पुस्तकालय सञ्चालन हुने छ । पुस्तकालय वडाले सञ्चालन गर्ने र केही पुस्तकको सहयोग भने फाउन्डेसनले गर्ने जनाइएको छ ।
मेलुङ गाउँपालिका मेलुङका समाजसेवी स्व. ललितबहादुर कार्कीले निजी खर्चमा स्थापना गर्नुभएको ललित पुस्तकालयका केही अवशेष छन् । स्व. ललितबहादुरले नै स्थापना गरिदिनुभएको त्रिभुवन माध्यमिक विद्यालयकै आसपासमा पुस्तकालय रहेको छ । कहिले स्थापना भयो र के कति पुस्तक छन् भन्ने यकिन छैन । चरीकोटमा रहेको गौरीशङ्कर सामुदायिक पुस्तकालय रिड नेपालको आर्थिक तथा विभिन्न सङ्घ संस्था र व्यक्तिको सहयोगमा २०६० सालमा जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भई स्थापना भएको हो । जिल्लामा उत्कृष्ट पुस्तकालयका रूपमा स्थापित छ ।
गत २०७९ सालमा विभिन्न देशमा रहेका १२ जना दोलखाली र दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णुवर थापासमेतको तीन लाख ४३ हजार २६५ रुपियाँ आर्थिक सहयोगमा दोलखा कारागारमा पुस्तकालय स्थापना गरिएको छ । ६५८ थान किताब रहेको पुस्तकालयका लागि थप किताब खरिद गरी हस्तान्तरण गर्ने तयारी भइरहेको छ । नेपालमा पुस्तकालय सञ्चालनमा आएको लामो इतिहास छैन । १०४ वर्षे राणा शासनमा पुस्तकालय खोल्न निकै सङ्कट थियो । राणा प्रधानमन्त्री भीमशमशेरको पालामा पुस्तकालय खोल्नेलाई नै सजाय भएको थियो । यसै घटनालाई लाइब्रेरी पर्व भनिन्छ ।
विसं १८६९ भदौ १५ गते राजा गिर्वाणयुद्ध विव्रmम शाहले लालमोहर लगाएर पुस्तक चिताइ तहबिलको नामबाट पुस्तकालय स्थापना गरेको इतिहास पाइन्छ । नेपालमा यही दिनलाई आधार मानेर विसं २०६५ देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।