• १३ साउन २०८१, आइतबार

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

blog

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलाली । फाइल तस्बिर

कैलाली, वैशाख २९ गते । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका डा.दुर्गाप्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष आठ हजार १७ जना छन् । 

पूर्वकर्म अर्थात् बाथरोग तथा नसासम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको सङ्ख्या पाँच हजार छ सय ३४ र पुरुष चार हजार तीन जना रहेका छन् । चिकित्सालयबाट तीन हजार पाँच सय ३८ महिला र दुई हजार ३९ पुरुष बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । मलद्वारसम्बन्धी रोगको उपचार लिने महिलाको सङ्ख्या ११ र पुरुष १४ जना रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए । प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा.रामकामेश्वर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स-रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायतको उपचार सेवा दिँदै आएको जानकारी दिनुभयो ।

निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भइरहेको डा.ठाकुरको भनाइ छ । “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु”, डा.ठाकुरले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् । रासस