• १३ साउन २०८१, आइतबार

दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर

blog

खोटाङको सदरमुकाम दिक्तेलमा शनिबारबाट सुरु भएको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, वैशाख २९ गते । 
खोटाङको सदरमुकाम दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर शनिबारबाट सुरु भएको छ । मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिने शिविर सोमबारसम्म चल्ने छ ।

सगरमाथा चौधरी आँखा अस्पताल, लाहानको प्राविधिक सहयोग एवम् नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा जाँच गराउन विभिन्न ठाउँबाट वृद्धवृद्धासँगै आँखाको समस्या भएका नागरिकहरूको बाक्लो उपस्थिति छ ।

आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन भइरहेको शिविरमा आँखा जाँच, औषधी वितरण, मोतीबिन्दुको अप्रेसन, चस्मा वितरणसँगै ज्येष्ठ नागरिकलाई दृष्टि चस्मा वितरण गरिने छ । न्यून दृष्टि भएका बालबच्चा र फरक क्षमता भएका सेवाग्राहीलाई आवश्यकता अनुसार आँखा जाँच, अप्रेसन, औषधी तथा चस्मा वितरण गर्ने तयारी गरिएको छ । शिविरमा उपचार सम्भव नभएका व्यक्तिहरूलाई सगरमाथा चौधरी आँखा अस्पताल, लाहानका लगेर उपचार गराइने नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।

निःशुल्क आँखा शल्यक्रिया शिविरका लागि जिल्ला अस्पताल, नगरपालिका, रेडक्रस, लगायतको साथ रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करुणा फाउण्डेसन र नेत्र ज्योति सङ्घसँगको सहकार्यमा १५ वटै वडामा निःशुल्क आँखा जाँच, ज्येष्ठ नागरिकलाई चस्मा तथा औषधी वितरण र मोतीबिन्दुको पहिचान शिविर सञ्चालन गरेको थियो । वडा–वडामा सञ्चालन गरिएका शिविरबाट पहिचान भएका आँखाका बिरामीलाई पनि हाल सञ्चालन भइरहेको आँखा शल्यक्रिया शिविरमा उपचार गरिने सभापति कसजुले बताउनुभयो ।