• १३ साउन २०८१, आइतबार

कर्णालीमा बाह्य लगानीको बाटो खुल्दै

blog

वैशाख १६ र १७ गते काठमाडौँमा भएको लगानी सम्मेलन । फाइल तस्बिर

रजनी योगी
सुर्खेत, वैशाख २९ गते । 
कर्णाली प्रदेशमा बाह्य लगानी भित्रिने सङ्केत देखिएको छ । काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले सकारात्मक सङ्केत दिनुका साथै बाह्य लगानीको बाटोसमेत खोलेको छ ।

यही वैशाख १६ र १७ गते काठमाडौँमा लगानी सम्मेलन भएको थियो । लगानी सम्मेलनका लागि ‘प्रोजेक्ट बैङ्क’ का रूपमा ३९ वटा परियोजना कर्णालीबाट तयार पारिएको थियो । तर एउटा मात्र परियोजना सम्मेलनमा प्रस्तुत भएको छ । पाँच वर्षे ‘कर्णाली अर्गानिक मिसन परियोजना’ सम्मेलनमा प्रस्तुत गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब लागतको पाँच वर्षे परियोजना तयार पारेको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त परियोजना सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो । कर्णालीका लागि सम्मेलन उत्साहजनक रहेको प्रवक्ता कठायतले बताउनुभयो । आफूले गरेको प्रस्तुतिमा सहभागिताका हिसाबले उत्साहजनक देखिएको उहाँको भनाइ छ । सङ्घीय लगानी सम्मेलनबाट प्रदेशको लगानी सम्मेलनबारे धेरै कुराको ज्ञान बढेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सम्मेलनबाट सिकेका कुरा प्रदेशमा कार्यान्वयन गरिने जनाइएको छ ।

सम्मेलनबाट कर्णालीमा एउटा लगानी भित्रिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद कोइरालाले बताउनुभयो । देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको भन्दै उहाँले अन्य लगानीसमेत आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि बाह्य लगानी भित्रिएको हो । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको छ । काठमाडौँमा आयोजना भएको लगानी सम्मेलनमा उक्त परियोजनाका लागि सम्झौता गरिएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपका  तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका ९ मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपियाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङ्स प्रालिका शाहले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ । आयोजनामा दोस्रो चरणमा ४० करोड रुपियाँ लगानी थप हुनेछ । एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी छ ।

यता कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै लगानी सम्मेलन आयोजनाको निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन आयोजना गर्ने भनिएको प्रदेशस्तरीय लगानी सम्मेलन हरेक वर्ष अन्योलमा पर्ने गरेको छ ।

यही वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । तर गत चैत २७ गतेदेखि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । सरकार परिवर्तनले सम्मेलन आयोजनामा बाधा पुगेको छ ।

नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले भने जसरी पनि लगानी सम्मेलन आयोजना हुने बताउनुभएको छ । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गरिने उहाँले जानकारी दिनुभयो । यसअघि विभिन्न चरणमा सम्मेलन गर्ने भनिएको भए पनि प्रशासनिक काम नभएको भन्दै उहाँले प्रचारबाजी मात्र भएको बताउनुभयो । ठुलो आयोजना सञ्चालन गर्न लगानी सम्मेलन आवश्यक रहेको भन्दै उहाँले प्रदेश सरकारले प्रदेश योजना आयोगलाई पूर्णता दिएर काम अघि बढाउने जानकारी दिनुभयो ।