• १३ साउन २०८१, आइतबार

प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित

blog

अनिल पराजुली
हेटौँडा, वैशाख २९ गते ।
 बागमती प्रदेशमा थप ३९ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको २८ गते शुक्रबारसम्म चितवनमा २०, मकवानपुरमा १७ र धादिङमा दुई जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप दुईजना डेंगु सङ्क्रमित थपिएका हुन् । गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन, मकवानपुर र धादिङमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख २८ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा ११ हजार ४३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०५ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालुआवको हालसम्म  काठमाडौँमा तीन हजार‚ चितवनमा एक हजार ७१४‚ ललितपुरमा एक हजार ४३८‚ मकवानपुरमा ८६८‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।