• १३ साउन २०८१, आइतबार

बाँकेको राप्तीसोनारी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा

blog

झाडापखालाबाट पीडितको गाउँमै उपचार गरिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २९ गते ।
 चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।

राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेको र तीमध्ये आठ जना अलि बढी बिरामी भएकोले उनीहरू सबैको उपचार गरिएपछि झाडापखाला नियन्त्रणमा आएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख केसीले राप्ती सोनारी अस्पतालका चिकित्सक डा. राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको उपचार गरेको र तीन जनालाई स्वास्थ्य चौकीमा ल्याएर थप गरिएको बताउनुभयो ।

खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट सो स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महताराको नेतृत्वमा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसी लगायतको टोली टोलीले पनि तत्काल गाउँमै पुगेर उपचार सुरु गरेको थियो ।

गाउँमा भएको एक भोजमा खानेपानीमा समस्या भएकोले पखाला फैलिएको जानकारी पाएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख केसीले पानी शुद्धीकरण गर्ने औषधी र पखालाका अन्य औषधीसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिटै नियन्त्रणमा आएको बताउनुभयो ।

यसअघि झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर सो बारेमा जानकारी गराइएको राप्तीसोनारीको स्वास्थ्य शाखाले जनाएको छ ।