• ८ जेठ २०८१, मङ्गलबार

कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज उपलब्धतामा जोड

blog

काठमाडौँ, वैशाख २८ गते । कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज रुपमा उपलब्ध हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालको आयोजना तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सहयोगमा शुक्रबार काठमाडौँमा आयोजित ‘दोस्रो कृत्रिम अङ्ग तथा सहायक उपकरण’ कार्यशालाका वक्ताहरू यस्तो बताएका हुन् ।

कार्यशालाको उद्घाटन गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले कृत्रिम अङ्ग तथा सहायक उपकरणको पहुँच लक्षित वर्गमा सहज रुपमा पु¥याउन सरकारले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माग बमोजिम आपूर्ति हुन नसकेको भन्दै उहाँले यसका लागि सबै पक्षबाट सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापितले गमनशिलता र पहुँचका लागि कृत्रिम अङ्ग तथा सहायक उपकरणको सहज पहुँच अधिकार अपाङ्गता भएका व्यक्तिहरूको भएको बताउनुभयो । उहाँले सरकारले यस्ता उपकरण सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले ग्रामीण क्षेत्रमा कृत्रिम अङ्ग तथा सहायक उपकरण प्राप्त गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालका अध्यक्ष सुकदेव पौडेलले नेपालमा दक्ष प्राविधिकको सङ्ख्या अत्यन्तै न्यून रहेको भन्दै ‘प्रोस्थेटिस्ट एन्ड अर्थोटिस्ट स्कूल’ को आवश्यकता रहेको बताउनुभयो । उहाँले आधुनिक र स्रोत साधन सम्पन्न ‘प्रोस्थेटिस्ट एन्ड अर्थोटिस्ट स्कूल’ स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यशालामा कृत्रिम अङ्ग तथा सहायक उपकरण निर्माण गर्ने पेसाकर्मी, अपाङ्गता तथा पुनस्र्थापनाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ तथ संस्थाका प्रतिनिधी, स्वास्थ्य पुनर्स्थापना सम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ता, विद्यार्थी र विदेशी प्रतिनिधी गरि करिब १५० जनाको सहभागिता रहेको थियो ।  नेपालमा कृत्रिम अङ्ग तथा सहायक उपकरणको आवश्यकता तथा महत्व उजागर गर्ने उद्धेश्यले आयोजित एक दिवसिय कार्यशाला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।