• ८ जेठ २०८१, मङ्गलबार

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

blog

काठमाडौँ, वैशाख २८ गते । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनीका बालबालिकालाई खोप लगाउन अपिल गरिएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले सरकारले सञ्चालन गर्न लागेको खोप अभियानमा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई वैशाख ३१ गते खोप लगाउन अपिल गर्नुभएको हो ।

अभियानमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई पुनः नियमित खोप लगाउन लागिएको जानकारी उहाँले दिनुभयो ।

सरकारले बालबाललिकालाई नियमित खोप कार्यक्रममार्फत १३ वटा रोगविरुद्ध खोप तालिका बनाएर निःशुल्क खोप प्रदान गर्दै आएको छ । जुनखोप जन्मेदेखि १५ महिनासम्म सात पटकसम्म दिइने गरिन्छ ।

खोप सुरक्षित भएकाले ढुक्काले आफ्ना बच्चालाई खोप लगाउन डा.गौतमको सुझाव छ । उहाँका अनुसार सरकारले उपलब्ध गराएको नियमित खोप पूर्ण मात्र लगाउँदा खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने, सङ्क्रामक रोग प्रकोपका रुपमा देखिने सम्भावना कम गर्छ । सङ्क्रामक रोगबाट हुने जोखिम कम गर्नुका साथै पोलियोबाट हुने अपाङ्गताबाट जोगाउने र खोपले बाल मृत्युदरको मृत्युको जोखिम पनि कम गर्छ ।

कुनै पनि बच्चाको खोप छुटेमा भविष्यमा रोगसँग लड्नसक्ने क्षमतामा कमी आउने, जटिल रोग लाग्ने, अपाङ्गता तथा मृत्युसमेत हुने उहाँको भनाइ छ ।

कुन खोपले के रोगबाट बचाउँछ ?
बिसीजी खोप

डा. गौतमका अनुसार जन्मिने वित्तिकैदेखि एक वर्षभित्रमा दिइने बिसीजीविरुद्धको खोपले क्षयरोग हुनबाट बचाउँछ । यो खोप एक पटक छालाभित्र दिइने गरिन्छ ।

छ हप्तामा लगाउने खोप
बच्चा जन्मिएको छ हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिबविरुद्धको खोप दिइन्छ । उक्त खोपले रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो निमोनिया, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउने डा.गौतम बताउनुहुन्छ ।

१० हप्तामा लगाउने खोप
बच्चा जन्मिएको १० हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिबविरुद्धको खोप दिइने गरिन्छ । डा. गौतमका अनुसार उक्त खोपले रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया, भ्यागुते लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इनफुलुएन्जा बीबाट बचाउँछ । 

१४ हप्तामा लगाउने खोप
१४ हप्तामा पोलियो, एफ आई पिभी, डिपिटी, हेप बी हिबविरुद्धको खोप दिने गरिन्छ । उक्त खोपले पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउँछ ।

नौ महिनामा लगाइने खोप
जन्मिएको नौ महिनामा एफ आई पिभी, पिसिभी, दादुरा–रुबेलाविरुद्धको खोप लगाइन्छ । उक्त खोप निमोनिया, दादुरा र रुबेलारोगबाट बचाउँछ ।

१२ महिनामा लगाइने खोप
१२ महिनामा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिने गरिन्छ । उक्त खोपले जापानिज इन्सेफलाइटिस बचाउँछ ।

१५ महिनामा लगाइने खोप
१५ महिनामा दादुरा–रुबेला टाइफाइडविरुद्धको खोप दिने गरिन्छ । उक्त खोपले दादुरा र रुबेलाबाट बचाउने गौतमको भनाइ छ ।