• ८ जेठ २०८१, मङ्गलबार

कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल

blog

राष्ट्रियसभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहाल

कामाडौँ, वैशाख २८ गते । राष्ट्रियसभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको आरोप लगाउनुभयो ।

नेता दाहालले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताउनुभयो । उहाँले नेपाली कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ । यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र ? सत्ता र सरकारलाई केही समय चल्न दिने होइन, पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ । नेपाली कांग्रेसका साथीहरुलाई आग्रह गर्दछु । प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थ केन्द्रित राजनीति नगर्नु होला ।’’

नेता दाहालले विभिन्न १० वटा विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा रहेको र ती विधेयक छिटोभन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताउनुभयो । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादा सम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशङ्का लागेको बताउनुभयो । उक्त विधेयकको बारेमा अविलम्ब छलफल प्रारम्भ गर्न आग्रह गर्नुभयो ।