• ६ जेठ २०८१, आइतबार

गण्डकी सरकारविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट

blog

फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २५ गते। गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको हो।

रिटमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्न/नगराउन अन्तरिम आदेश माग गरिएको छ।रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुखलाई तटस्थ मानी ३० सदस्यको समर्थनलाई बहुमत मान्दै सभामुख कृष्ण धितालले सरकारले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।आइतबारको संसद् बैठकमा सभामुख धितालको घोषणापछि नेपाली कांग्रेसका सांसदले नाराबाजी गरेका थिए।

चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो पार्टी नेकपा एमालेबाट सांसद सीता सुन्दास र वेदबहादुर गुरुङलाई सोमबार मन्त्री नियुक्त गर्नुभएको छ।

सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य र गुरुङलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।सात मन्त्रालय रहेको गण्डकीमा अझै दुई मन्त्रालय मुख्यमन्त्री अधिकारीसँगै छन्।

यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।अधिकारीको नियुक्तिविरुद्ध त्यस बेला सर्वोच्च अदालत जानुभएका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रिट सर्वोच्चले वैशाख १७ गते खारेज गरिदिएको थियो।

गण्डकी प्रदेशसभामा सत्तारुढ एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित आठ सांसद छन्।एक स्वतन्त्र सांसदको समर्थन हुँदा पनि सभामुखले बराबर भएको अवस्थामा मात्र मतदान गर्ने पाउने हुँदा ३० सांसदको मात्र समर्थन हुने अवस्था छ।विपक्षी नेपाली कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद छन्।