• ६ जेठ २०८१, आइतबार

विद्यालयमा पाँच लाखको अक्षयकोष

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), वैशाख २५ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, घ्यासीखर्कमा रहेको रितुङ माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न एक परिवारले अक्षयकोष स्थापना गरेका छन् ।  

दिवङ्गत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातिनातिनीले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेका हुन् । 

दिवङ्गत छन्त्याल दम्पती घरपरिवारका तर्फबाट भीमबहादुर छन्त्याल, समाया छन्त्याल, सतिमा छन्त्याल, कमल छन्त्याल, मन छन्त्याल, विमल छन्त्याल, गीता छन्त्याल, रिता छन्त्याललगायतले पहिलो चरणमा पाँच लाख राशिको ‘रामबहादुर–हल्जना छन्त्याल स्मृति रितुङ मावि अक्षयकोष’ स्थापना गर्नुभएको विद्यालयका शिक्षक याम घर्तीले जानकारी दिनुभयो । 

विद्यालयमा आयोजित अक्षयकोष स्थापना समारोहमा कोष स्थापनाकर्ता परिवारको तर्फबाट सतिमा छन्त्याल र गीता छन्त्यालले विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पदमबहादुर छन्त्याल र प्रअ खिमबहादुर छन्त्याललाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषको ब्याज रकमबाट वार्षिक रूपमा विद्यालयमा अध्ययनरत दुई जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री वितरण गरिने विद्यालयले जनाएको छ ।