• ६ जेठ २०८१, आइतबार

श्रीमतीको हत्या आरोपमा पक्राउ

blog

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), वैशाख २४ गते । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो । 

प्रहरीले कँहारलाई आज बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान् श्रीमतीबिच लामो समयदेखि विवाद हुँदै आएको थियो । आठ वर्ष अगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् । 

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग छ महिना अघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । रासस