फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २४ गते । कास्की प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको शर्माले बताउनुभयो । पौडेलले सामुदायिक जङ्गल नजिकै रहेको आफ्नै खर बारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठुलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीले पौडेलमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय कास्की पठाएको छ । डिभिजन वन कार्यालय कास्कीले पौडेलमाथि कारवाही प्रक्रिया सुरु गरेको डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिनुभयो ।