• ६ जेठ २०८१, आइतबार

नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा

blog

नेपाल भ्रमणमा आउनुभएका जापानका विदेशमन्त्री कामिकावा योको आइतबार वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्नुहुँदै । तस्बिर : विकास द्वारे

काठमाडौँ, वैशाख २४ गते । नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो । 

जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो । बहुपक्षीय यात्रामा जापानले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता विदेशमन्त्री योकोले जनाउनु भएको छ । 

हिमाल बचाउन आग्रह 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष योकोले शिष्टाचार भेट गर्ने क्रममा बहुपक्षीयताको ज्वलन्त विषय रहेको विश्वव्यापी जलवायु परिवर्तनको मार नेपालका हिमालमा गम्भीर रूपमा परेको राष्ट्रपति पौडेलले औँल्याउनुभयो । उहाँले अत्यधिक तापक्रम र कार्बन उत्सर्जनबाट पग्लँदै गरेको हिमालका कारण पृथ्वीको सुरक्षा चुनौती बढेको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा गम्भीर भइदिन आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

जापानका विदेशमन्त्री कामिकावा योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि अत्यन्तै चिन्तित रहेको स्पष्ट पार्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको जानकारी गराउनुभयो । 

आर्थिक–सामाजिक विकासमा थप सहयोग गर्ने

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा द्विपक्षीय हित, आर्थिक तथा समाजिक सहकार्य तथा नयाँ सम्भावित साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले गर्दै आएको सहयोगको सराहना गर्नुभयो । नेपालले लिएको विकास लक्ष्य पछ्याउँदै पछिल्लो समय ठुला पूर्वाधार निर्माणमा जापानको महìवपूर्ण रहेको भन्दै त्यस क्रममा नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार प्रकट गर्नुभयो ।  जवाफमा विदेशमन्त्री योकोले नेपाल–जापानबिचको सौहार्दपूर्ण र समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाएर लैजाने विश्वास दिलाउनुभयो । 

सम्बन्ध थप सुदृढ बनाइने

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तथा जापानका विदेशमन्त्री कामिकावा योकोसहित दुई देशको उच्चस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार नै द्विपक्षीय छलफल भएको छ । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा दुई द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिको भूमिका विस्तार गर्न सकिने सम्भावना रहेको दुई नेतृत्वले स्वीकार गर्नुभयो । सडक पूर्वाधार विकासमा सुरुङ प्रविधिको सुरुवात गर्न नेपालको प्रमुख परियोजनामा जापानको सहयोग सन्तोषजनक रहेको समीक्षा भयो । 

सन् २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइने भएकाले सो कोसेढुङ्गाको वर्षलाई उच्चस्तरीय आदानप्रदान र विभिन्न कार्यक्रमका साथ मनाउनुपर्नेमा दुई नतेृत्वले सहमति जनाउनुभयो ।  ।