• १३ मंसिर २०८१, बिहिबार

जिम्मेवार प्रेस आजको आवश्यकता : प्रदेश प्रमुख भट्ट

blog

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्ट ।

रमेश पौडेल 

पोखरा, वैशाख १९ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको भन्दै डिजिटल मिडियाको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारण सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रदेश प्रमुख भट्टले पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोग बारे पत्रकारलाई दक्ष बनाउने काम राज्यको पनि भएकोमा जोड दिनुभयो । सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेकोसमेत बताउनुभयो । 

विश्वव्यापी रुपमा देखापरेको आर्थिक संकटको मारमा सञ्चार जगत र पत्रकारिता पेशा पनि परेको भन्दै प्रदेश प्रमुख भट्टले नेपाली सञ्चार जगतलाई यो समस्याबाट मुक्त गराउन न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो, "सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो ।" नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग सहकार्य गर्ने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

उहाँले गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक आमसञ्चार ऐन २०८० प्रमाणीकरण गरेको स्मरण गर्दै यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले सम्पूर्ण श्रमजीवीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवससँगै मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस र वैशाख २४ गते मनाइने नवौं राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सञ्चार जगतसँग महानगरपालिकाले सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । 

पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी कोमलनाथ बराल र विश्वबन्धु भण्डारी, केन्द्रिय सदस्य छवि तिवारी, प्रदिप काफ्ले र सरीता तिमिल्सिना, महासचिव गोविन्द सुवेदीलगायतका व्यक्तित्वहरुले नेपाली सञ्चार क्षेत्रका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्व.त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो । महासंघ म्याग्दी उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ ।