• ९ जेठ २०८१, बुधबार

शाहले शपथ नलिएपछि विवाद

blog

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र एमाले नेता विनोदकुमार शाह । तस्बिरः रजनी योगी

रजनी योगी 

सुर्खेत, वैशाख १९ गते । रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ । 

एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर शाहले मंगलबार शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गर्नुभयो । 

पूर्वमन्त्री समेत रहनुभएका शाहले कँडेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रोज्नुभएको थियो । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालयको जिम्मेवारी शेरबहादुर बुढालाई सुम्पिनुभएको छ । महत्त्वपूर्ण मानिने मन्त्रालय नपाएपछि शाह शपथग्रहण कार्यक्रममा उपस्थित हुनुभएन । 

आफूसँग मुख्यमन्त्रीले छलफल नै नगरी एकलौटी निर्णय गरेका कारण शपथमा सहभागी नभएको उहाँले बताउनुभएको छ । पार्टी केन्द्रको नीति र विधि विपरीत सरकार विस्तार गरिएको आरोप शाहले लगाउनुभयो । 

आफूसँग कुनै सल्लाह नगरी मन्त्री नियुक्त गरिएको शाहले जानकारी दिनुभयो । कँडेलले पार्टीको केन्द्रीय निर्णय नमानेर आफूखुसी सरकार विस्तार गरेकाले शपथ कार्यक्रममा सहभागी नभएको बताउनुभयो । मुख्यमन्त्रीको कार्यशैली चित्तबुझ्दो नभएको र विनाछलफल शपथको समय तोकिएकाले सहभागी हुन नसकेको उहाँको भनाइ छ ।  

शाहलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, शेरबहादुर बुढालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र दक्षिणा शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कँडेलले केन्द्रको निर्देशनविपरीत मन्त्री बनाएको र वरियतामा ख्याल नगरेको शाहको भनाइ छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राख्नुभएको छ । कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।