• ८ जेठ २०८१, मङ्गलबार

खडेरी लम्बिएपछि पोखरामा खानेपानी अभाव

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख १८ गते। पोखरा उपत्यकाको मुख्य खानेपानी आयोजना स्तरोन्नति जारी रहँदा लामो खडेरी लागेपछि खानेपानी अभाव भएको छ।

नेपाल खानेपानी संस्थान पोखरा शाखाले सात करोड लिटर माग भए पनि पोखरा महानगरमा दैनिक चार करोड ७० लाख लिटरमात्र पानी वितरण गरिरहेको छ ।

संस्थानका पोखरा शाखा र विन्ध्यवासिनीमा रहेको इकाई कार्यालयमा दिनमै पाँच सयभन्दा बढी उपभोक्ता खानेपानी माग गर्दै आउन थालेका छन्।संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशीष कार्की लम्बिएको खडेरी र खानेपानी योजनाको काम जारी रहेकाले पानीको अभाव भएको बताउनुभयो।

“पोखराको खानेपानीको मुख्य स्रोत मर्दी खोला हो।कालीमुडा, भोटीखोला, बालधारा तथा बोरिङबाट वितरण गर्ने पानीसमेत कम हुँदा वितरणमा हामीलाई सकस परेको छ,” कार्कीले भन्नुभयो।धेरैजसो खानेपानीका मूलमा नै पानी कम भएको उहाँले बताउनुभयो।

उपभोक्ताले भने १५ दिनमा पनि पानी नआएको गुनासो गरिरहेका छन्।पोखरा–५ की बासिन्दा प्रमीला रेग्मीले खानेपानी नहुँदा दैनिकी नै कष्टकर भएको सुनाउनुभयो।संस्थाको पोखरा शाखाले करिब ५१ हजार धारामार्फत् पानी वितरण गरिरहेको छ।जाइकाको सहयोगमा पोखरामा चलिरहेको खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।