• ४ जेठ २०८१, शुक्रबार

दम्पती हत्या घटना : आरोपी दुई पक्राउ

blog

दम्पति हत्या भएको घरमा स्थानीय । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख १८ गते । म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् । 

गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँको श्रीमती  ६७ वर्षीया गमला जिसीको बीभत्स हत्या भएको अवस्थामा घरभित्र शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्त पक्राउ परेको जानकारी दिनुभयो । 

हत्यामा संलग्न भएको आरोपमा म्याग्दीका कृष्ण विक र दीपक परियारलाई मंगलबार पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्यामा संलग्न प्रहरी नियन्त्रणमा आइसकेका छन् । २४ घण्टाभित्र पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नलाई सार्वजनिक गर्नेछौँ ।’’  

हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीले गरेको थियो । हत्यामा संलग्न भएका एकलाई पर्वत र अर्को एक जनालाई पोखराबाट नियन्त्रणमा लिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएकामाथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्या भएको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका जिसी खाटमै मृत भेटिनुभएको थियो । श्रीमती गमला भने भुईँमा घोप्टो अवस्थामा मृत भेटिनुभएको थियो । 

घटनालगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटाएको थियो । घटनालाई गम्भीर रूपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डिआइजी विकासराज खनाल आफैँ घटनास्थल पुग्नुभएको थियो । पोखराबाट त्यतिबेला तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतभन्दा म्याग्दीनजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृतहरू अनुसन्धानमा जुट्दा आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोलीलाई घटनाको अनुसन्धानमा पठाएको थियो ।