• १३ मंसिर २०८१, बिहिबार

घरमै हुन्छन् अझै पनि सुत्केरी

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, वैशाख १८ गते । नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा म्याग्दीमा घरमै २५ जना सुत्केरी भएको पाइएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । रघुगङ्गा गाउँपालिकामा सात जना महिला घरमै सुत्केरी भएका छन् । स्वास्थ्य कार्यालयका गणेश सुवेदीले धवलागिरि गाउँपालिकामा दुई जना, मालिका गाउँपालिकामा १० जना, मङ्गला गाउँपालिकामा पाँच जना र बेनी नगरपालिकामा एक जना महिला घरमै सुत्केरी भएको जानकारी दिनुभयो । 

मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा घरमै सुत्केरी भएका छन् । गाउँपालिकाको निस्कोटमा दुई जना, ओखरबोटमा चार जना, डाँडागाउँमा तीन जना र बिममा एक जना घरमै सुत्केरी भएका छन् । सात वटा वडा रहेको मालिका गाउँपालिकामा चार वटा बर्थिङ सेन्टर रहेको र बर्थिङ सेन्टर नभएका वडामा घरमै सुत्केरी हुने गरेको कार्कीको भनाइ छ ।