• ८ जेठ २०८१, मङ्गलबार

पर्वतीय सङ्ग्रहालयमा अन्ठानब्बे देशका पर्यटक

blog

लेखनाथ समाचारदाता

लेखनाथ, वैशाख १८ गते । पर्यटनको राजधानी पोखरामा पाहुनाको मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठमन्दिर पर्छन् । पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्छ । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको सङ्ग्रहालयमा पछिल्लो आर्थिक वर्षमा ९८ देशका पर्यटक आएका छन् । 

सार्क, विदेशी र नेपालीको मात्र फरक फरक तथ्याङ्क राख्ने गरिएकोमा गएको कात्तिकदेखि विदेशीको राष्ट्रियता अनुसारको तथ्याङ्क राख्न थालिएको छ । चालु आवको साउनदेखि चैतसम्म सार्क देशका १५ हजार ७७२ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । यसबाट  ४१ लाख ३५ हजार ३४८ रुपियाँ आम्दानी भएको छ । यो नौ महिनामा आएका १८ हजार १९० जना विदेशीले सङ्ग्रहालयलाई ९५ लाख २९ हजार ८२८ रुपियाँ तिरेका छन् । यहाँ आउनेमा सबैभन्दा बढी जापानी छन् । कात्तिकदेखि चैतसम्म एक हजार ७६४ जना जापानी पर्यटक आएका छन् । सो अवधिमा एक हजार ७६ जना फ्रान्सेली, ७९३ जना चिनियाँ, ७६४ जना अमेरिकी, ५६५ जना बेलायती र ८१६ जना दक्षिण कोरियाका नागरिकले सङ्ग्रहालय हेरेका छन् । 

अघिल्लो वर्ष दुई करोड ९१ लाख १३ हजार सात सय रुपियाँ आम्दानी गरेको सङ्ग्रहालयले चालु आवमा दुई करोड नौ लाख ९४ हजार ४९१ रुपियाँ सङ्कलन गरेको छ । सङ्ग्रहालयका भावी योजना निर्माण र पर्यटकको सङ्ख्या बढाउन राष्ट्रियता अनुसारको तथ्याङ्कले सहयोग गर्ने कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो सङ्ग्रहालय दुई दशकदेखि पर्वतीय गतिविधि, संस्कृति र जलवायु परिवर्तन बुझाउने अध्ययन केन्द्र बनेको छ । 

यस्तो तथ्याङ्कले हामीलाई भावी योजना, थप निर्माण र रणनीति तय गर्न पनि सघाउने अपेक्षा गरेका छौँ ।” सङ्ग्रहालय नाफा आर्जनका लागि नभई ज्ञान बाँड्न केन्द्रित भएको सुनाउँदै उहाँले महिनामा कम्तीमा २० लाख रुपियाँ खर्च हुने उल्लेख गर्नुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे पोखरा–१७, रातोपैह्राको करिब एक सय रोपनीमा रहेको यो सङ्ग्रहालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न नेपाल पर्वतारोहण सङ्घको मात्र बुताले नपुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई अनुसन्धान केन्द्र बनाएर अझ धेरै पर्यटन र अनुसन्धातालाई आकर्षण गर्न सकिन्छ । यसका लागि राज्यले लगानी र बजारीकरण गरिदिनु पर्छ ।”