म्याग्दी समाचारदाता
म्याग्दी, वैशाख १८ गते । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाको ऋण नियतवश नतिर्नेको स्थानीय तहबाट प्राप्त हुने सेवासुविधा रोकिने बताउनुभएको छ । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बेनी नगरपालिका एवं जिल्ला सहकारी सङ्घको समन्वयमा सहकारी ऐन नियम तथा समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख केसीले भन्नुभयो, “कसैको बहकाउमा लागेर होस या बदनियतले ऋण तिरेको छैन भने त्यस्ता ऋणीले स्थानीय तहबाट प्रदान गर्ने सेवा तथा सिफारिस पाउने छैनन् ।” उहाँले सहकारी संस्थाले ऋण नतिर्नुको कारण र नियतका बारेमा आधिकारिक जानकारी गराएपछि त्यस्ता सेवाग्राहीको सबै प्रकारका सिफारिस रोकिने बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै नगरपालिकाले सहकारीको ऋण नतिर्नेलाई सेवा रोक्ने उल्लेख गरेकाले त्यस्तो सहकारीकर्मी ढुक्क भए हुने उहाँको भनाइ थियो । उहाँले सहकारीलाई डुबाउन खोज्ने कसैलाई पनि नीतिगत रूपमा बेनी नगरले नछाड्ने भएकाले बचतकर्ताको बचत पनि फिर्ता हुने र सहकारी पनि सामान्य अवस्थामा आउनेमा आफू ढुक्क रहेको तर्क गर्नुभयो ।
ऋण लगानी भएको पैसा जनताले नै दुःख गरेर कमाएको पैसा भएकाले त्यसको दुरुपयोग गर्नेलाई कारबाही गर्नुका साथै सेवा रोक्नु पर्ने उहाँको धारणा थियो । नगर प्रमुख केसीले भन्नुभयो, “ठुला लगानीकर्ताले सहकारीले साना ऋणीलाई लगानी गर्दा आफूहरूको मुनाफा गिरावट आएको ठानेर सहकारीलाई अप्ठ्यारोमा पार्ने खेल खेलेको छ ।”
सहकारीलाई अप्ठ्यारो पार्दा आफूहरूलाई ठिक हुने भन्ने बैङ्कहरूले ठानेको भए पनि सहकारी अप्ठ्यारोमा पर्दा कोही पनि सहज अवस्थामा नआउने भएकाले सबै मिलेर सहकारीलाई सामान्य अवस्थामा ल्याउनु पर्ने उहाँको भनाइ थियो ।
नगर उपप्रमुख ज्योति लामिछानेले केही सहकारीमा समस्या देखिनुमा संस्थाका प्रबन्धकको बदनियत देखिएको बताउनुभयो । उहाँका अनुसार सहकारीका कर्मचारी तथा प्रबन्धकले ऋण लगानी गर्दा सफ्टवेयरमा ब्याजदर न्यून राख्दा संस्था र बचतकर्तालाई समस्या भएको बताउनुभयो । स्थानीय तह बनेपछि डिभिजन सहकारी कार्यालयले बेनी नगरपालिकालाई ५७ सहकारी हस्तान्तरण गरेको र दुई वटा नयाँ दर्ता गरेको थियो । त्यसमध्ये पाँच वटा सहकारी एकीकरणमा गएको र एउटा सहकारी खारेजीमा पुगेको बेनी नगरपालिकाकी सहकारी शाखा प्रमुख प्रभा शर्माले बताउनुभयो ।
त्यस्तै निस्क्रिय रहेका ११ सहकारीलाई पनि खारेजीको प्रक्रियामा लैजानु पर्ने भएकाले नगरपालिकाभित्र कार्यक्षेत्र भएका ४३ सहकारी मात्रै सक्रिय रहेको जनाइएको छ । नगरपालिकाभित्रका ४३ सहकारीमा १४ हजार ५७० सेयर सदस्य रहेकोमा १० हजार ३९ महिला छन् ।
नगरपालिकाभित्रका सहकारीले १२५ जनालाई रोजगारी प्रदान गरेको सहकारीले एक अर्ब ६१ करोड ४७ लाख आठ हजार रुपियाँ ऋण लगानी गरेको शर्माले बताउनुभयो । कार्यक्रममा सहकारी रजिस्ट्रार भेषराज रिजालले सहकारीको समस्या बुझेर समाधानका लागि कार्यालय लागिरहेको बताउनुभयो ।
ठुलो बचत र ठुलो ऋणले नै सहकारीलाई समस्या पारेको बताउँदै उहाँले कुनै पनि लगानीमा कमसल धितो रहेको भए पुनः धितो मागेर ऋणमुताबिकको जमानत बनाउनुपर्ने धारणा राख्नुभयो ।