• ४ जेठ २०८१, शुक्रबार

उच्च गतिको विद्युत प्रवाह, पाँच जना घाइते

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख १७ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको विद्युत प्रवाहमा ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा पाँच जना घाइते भएका छन् ।

घारका दिलबहादुर बरुवाल, मनिता बरुवाल, हिरा बरुवाल, उजेली बरुवाल र जिलप्रसाद बरुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिका–६ घारका जितबहादुर बरुवालको घरमा एक्कासि आगलागी हुँदा घरमा रहेको किराना पसलको छ लाख ५० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट भएको छ । पक्की घरमा आगलागी हुँदा घर सामान्य क्षति भए पनि पसलको सबै सामान जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण अन्तरगतको मेन लाइन र डिस्ट्रीव्युसन लाइनको तार जोडिँदा एक्कासि हाइ भोल्टेज करेन्ट प्रवाहका कारण एक घरमा आगलागी भएको र अन्य २६ घरमा मिटर बक्स र वायरिङमा क्षति पुगेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

मुक्तिमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकराज बरुवालले ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा गाउँका ५ वटा कुटानी पिसानी मिलमा क्षति पुगेको तथा धेरै घरहरूमा टेलिभिजन, मोटर, पङ्खा, फ्रिज, बत्ती लगायतका विद्युतीय उपकरण जलेर क्षति भएको बताउनुभयो ।