• ३ जेठ २०८१, बिहिबार

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

blog

मुस्ताङका पर्यटकीय स्थान । फाइल तस्बिर

गलेश्वर (म्याग्दी), वैशाख १७ गते । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।

पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका बेनीको प्रवेश नाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक जाने गरेका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताउनुभयो । 

स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ । घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष २०८१ को सुरुआतसँगै आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा भीड लागेको छ । मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटक बढेका पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । 

मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताउनुभयो । चितवनको क्षेत्रपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका सागर श्रेष्ठ, मनिका श्रेष्ठ, सलिन काफ्लेलगायत उहाँको समूहका १५ युवकयुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गरेर शनिबार बेनी फर्किएको र यहाँ एक रात बसेर बागलुङ तथा कुश्माका पर्यटकीय क्षेत्रको घुमफिर गरेर मात्रै चितवन जाने जानकारी दिनुभयो ।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविककोभन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । वैशाख पहिलो सातादेखि नै म्याग्दीमा साविकको भन्दा पर्यटक बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिनुभयो । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो । पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो । रासस