ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), वैशाख १७ गते । म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी घटेपछि २५ विद्यालयको कक्षा समायोजन गरेको छ ।
गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालयमध्ये २५ वटा विद्यालयमा विद्यार्थी अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको हो । त्यसमध्ये तीन वटा विद्यालयले भने पूरै कक्षा नै समायोजन गरिएको छ ।
विद्यार्थी घट्दै गएर कक्षाकोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको जनाएको छ । गाउँ शिक्षा समितिका संयोजक अध्यक्ष राजुप्रसाद आचार्यले यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन (घटुवा) गरिएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले विद्यार्थी न्यून भएका जलजला गाउँपालिका–२ मा रहेको सिद्धबाबा प्राविको कक्षा १० भन्दा माथिको कक्षा, वडा नं. ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिको कक्षा समायोजन गरिएको बताउनुभयो । उहाँले वडा नं. ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं. ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षाहरू शिव माविमा समायोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै वडा नं. १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योति मण्डल माविमा, वडा नं. २ को दिनकल्याण प्राविको १ भन्दा माथिको कक्षालाई समाज कल्याण प्राविमा समायोजन गरिएको छ । विन्ध्यवासिनी प्राविको ३ भन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नं. ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्केढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
यसै गरी वडा नं. ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं. ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिको कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिको कक्षालाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ ।
वडा नं. ५ को पञ्चमूल प्राविको ३ भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिको कक्षालाई मालिका आधारभूत विद्यालयमा समायोजन गरिँदै छ । वडा नं. ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिको कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ भन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो ।
वडा नं. ७ को भूमे प्राविको ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिको कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ । सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नं. ८ को जन जागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई जनकल्याण माविमा समायोजन गरिएको छ ।
समायोजन गरिएका विद्यालयका कक्षामा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, “अहिलेलाई कक्षा समायोजन मात्र गरिएको छ । भविष्यमा विद्यार्थी सङ्ख्या बढेमा समायोजन निर्णय फिर्ता हुने छ भने विद्यार्थी सङ्ख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने छ ।” विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको हाललाई अस्थायी रूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको अध्यक्ष आचार्यको भनाइ छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकलाई विद्यालय विकास प्रस्ताव माग गरी त्यसको मूल्याङ्कनका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने तयारी गरिएको आचार्यले बताउनुभयो । जलजला गाउँपालिकाले एक वर्षयता शैक्षिक सुधारको अभियान सञ्चालन गरिरहेको छ ।