• २ जेठ २०८१, बुधबार

ढोरवाराहीको आम्दानी बढ्दै

blog

मन्दिरलाई दान दिएपछि रसिद देखाउँदै एक भक्तजन । तस्बिर : अमरराज नहर्की

तनहुँ समाचारदाता

तनहुँ, वैशाख १७ गते । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल ढोरवाराही मन्दिरमा तीर्थालुले चढाएको भेटी तथा दान रकमलाई व्यवस्थित गरिएको छ । नगरपालिकाले मन्दिर व्यवस्थापन समितिमार्फत उक्त रकम व्यवस्थित गरेको हो । 

भक्तजनले चढाएको भेटी तथा दान सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठेपछि मन्दिर व्यवस्थापन समितिमार्फत भेटी तथा दान सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

नगरप्रमुख पण्डिले भन्नुभयो, “आम्दानीलाई पारदर्शी बनाउनलाई भक्तजनबाट प्राप्त भेटी तथा दानको रसिद जारी गर्ने र नियमित रूपमा सार्वजनिक गर्न सुरु भएको छ ।” प्राप्त रकमलाई व्यवस्थित गरिएपछि भेटी र दान रकम बढ्दै गएको समितिले जनाएको छ ।

सो समितिका अनुसार गत चैतमा तीन लाख भेटी सङ्कलन भएको छ । सङ्कलन भएको रकम मन्दिर व्यवस्थापनका अतिरिक्त सामाजिक काममा खर्च गरिने जनाइएको छ । भक्तजनलाई सहज बनाउन ३१ लाख चार हजार रुपियाँ लागतमा बाटो स्तरोन्नति गरिएको छ । 

पृथ्वी राजमार्गमा पर्ने दुलेगौँडा बजारनजिकै गाछेपानीबाट सेतीनदी पार गर्दै पाँच किलोमिटर दक्षिणपश्चिम यात्रा गरेपछि मन्दिरमा पुग्न सकिन्छ । मनोकाङ्क्षा पूरा हुने र आपत्ति, पीडा तथा दुःखलाई दूर गर्ने देवीका रूपमा ढोरवाराहीलाई लिने गरिन्छ ।

ढोरवाराही मन्दिरमा रहेको कुण्डमा पहाडको खोँचबाट बेला बेलामा आफैँ पानी आउने र बग्ने गर्दछ, जसलाई दैवी शक्तिका रूपमा मानिने र लहरी छुट्ने भनिन्छ । सयौँ वर्षदेखि ठुलो पहाडभित्रबाट पहरो छिचोल्दै प्रत्येक १५ मिनेटको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरनजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ रहेको छ ।