• ३० वैशाख २०८१, आइतबार

विवादले सडकमै पर्खाल

blog

अँधेरी खोलास्थित सडकमा पर्खाल लगाउनुका साथै रुख ढालेर गरिएको अवरोध । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख १६ गते । सामुदायिक वन हुँदै सडक विस्तार गर्न नपाएको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका –१ कुहुँको अँधेरी खोलामा रूख ढालेर तथा पर्खाल लगाएर स्थानीयले शनिबारदेखि अवरोध गरेका छन् । 

मंगला गाउँपालिका –१ कुहुँ र पूर्णगाउँ जोड्ने सडकखण्डमै पर्खाल लगाएर बाटो अवरुद्ध भएपछि यातायात साधन प्रभावित भएका छन् । बेनी–सिमलचौर–टोड्के सडक अन्तर्गत पर्ने सो स्थानमा सडक अहिलेसम्म बन्द छ । खुलाउनका लागि कस्ले पहल गर्ने भन्ने अन्यौल रहेको स्थानीयको भनाइ छ ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनले सडक विस्तार गर्दा वन क्षति हुने भन्दै निवेदन दिएपछि विस्तार रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक नभए एउटा कुरा, सडक भएको अवस्थामा वनभरी सडक बनाउँदा वन नासिन्छ भनेर हामीले रोक्न निर्देशन दिएका हौं ।’ 

कुहुँकी स्थानीय वासिन्दा एवम् जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले सडकमा पर्खाल लगाएर बन्द गरेको भन्ने आफूले पनि सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुहुँ हुँदै सडक टोड्के लैजान पूर्णगाउँका बासिन्दाको बिमति हो त्यसैले उहाँहरुले वन कार्यालयमा निवेदन दिएपछि वनले सडक विस्तार रोक्दा कुहुँका बासिन्दाले सडक अवरोध गर्नुभएको होला ।’

मंगला गाउँपालिका –१ का अर्का स्थानीय वासिन्दा जितमान गौचनले कुहुँ–पूर्णगाउँ हुँदै टोड्को जाने सडक हुँदाहुँदै सामुदायिक वन मासेर अर्को सडक बनाउन नहुने भन्दाभन्दै कुहुँका जबरजस्ती सडक बिस्तार गर्न खोजेको र सामुदायिक वन जोगाउनुपर्छ भन्दा आवतजावत गर्ने सडकमै कुहुँका स्थानीयले पर्खाल लगाएको उहाँले बताउनुभयो । 

पर्यटकीयस्थल टोड्केदेखि पूर्णगाउँ–कुहुँ हुँदै बेनीसम्म पुग्ने सडकमा कुहुँका वासिन्दाले अवरोध गर्दा टोड्के पुग्ने पर्यटक झिँ तथा पूर्णगाउँ हुँदै बैकल्पिक मार्ग प्रयोग गरेर बेनी फर्कीन थालेका छन् । सडक निर्माण थालनी भएको पहिल्यै भएको र पटक–पटक विवाद हुनेगरेकोमा अहिले पनि पुनः विवाद बढेपछि सडक अवरुद्ध पारेको मंगला गाउँपालिका –१ का अध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो ।

सडक खण्डमा पर्खाल र रुख ढालेर अवरोध गरिएपछि कुुहुँ र पूर्णगाउँबाट सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्र बावियाचौर जाने यातायातका साधन समेत प्रभावित भएको अध्यक्ष रोकाले बताउनुभयो ।