• २९ वैशाख २०८१, शनिबार

सर्केगार्ड सडक सात वर्षपछि चौडा गर्न सुरु

blog

रोकिएको सडक चौडा गर्ने कामको थालनी गरिँदै । तस्बिर : राजन

हुम्ला, वैशाख १६ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो । 

सर्केगार्ड गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले विगत सात वर्षदेखि रोकिएको सडक चौडा गर्ने कार्य  सहमति भएपछि सुरु भएको बताउनुभयो । उहाँले सुरुमा वडाले समन्वय गरेको भए पनि सहमति हुन नसकेको कारण गाउँपालिकाले समन्वय गर्नु परेको र त्यसमा सडकको क्षेत्र भित्र घर तथा टहरा निर्माण गरेका धनी र निर्माण कम्पनी पक्षबिच सहमति गराउन गाउँपालिका सफल हुँदा सडक चौडा गर्ने कार्य सुरु भएको बताउनुभयो ।

यसअघि सडकको चारदेखि पाँच मिटर चौडा सडकको ट्र्याक खोल्ने कार्य भएर हाल यातायातका साधन सञ्चालन हुँदै आएका छन् । अहिले घर तथा टहरा धनीबिच बजार क्षेत्रमा आठ मिटर सडक चौडा बनाउने सहमति भएको पछि काम अगाडी बढेको उहाँले बताउनुभयो । निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि लंकबहादुर शाहीले आफ्नो निर्माण कम्पनी सलीसल्लादेखि छारेसम्मको पच्चीस किलो मिटर सडक निर्माणको जिम्मा परेकोमा अन्य क्षेत्रको सडक स्तरोन्नति गर्ने कार्य पुरा भएको र अब सर्केगार्ड बजार क्षेत्रको पाँच सय मिटर सडकको यसअघि सडक चौडा गर्ने कार्य रोकिएको अहिले स्थानीय बासिन्दालाई सहमतिमा ल्याउने कार्य भएपछि सो सडकको चौडा गर्ने कार्य सुरु भएको बताउनुभयो ।

आर्थिक वर्ष ०७३।०७४ मा सडकको स्तरोन्नति गर्ने कामको जिम्मा सो कम्पनीलाई परेको थियो । अहिले सडकमा घर तथा टहरा लगाएको धनीसँग सडक चौडा गर्ने सहमति भएपछि कामलाई तीव्रता दिइएकोले चाँडै सो कार्य सम्पन्न गर्ने उहाँले बताउनुभयो । आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सडक चौडा गर्ने क्रममा पाँच वटा पक्की घर र पैँतीस वटा टहराहरू भत्किने बताउनुभयो । 

२०७३ मा आयोजनाले उक्त भेजीसंग सडकको स्तरोन्नतिका लागि सम्झौता भएकोमा निर्माण कार्य ढिलाइ भएको कारण पटक पटक म्याद थप गर्ने कार्य भएको थियो । यसका लागि आयोजनाले भ्याट सहित २२ करोड ११ लाख ७७ हजार असी रुपियाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।