• २४ वैशाख २०८१, सोमबार

भारतको लोकसभा निर्वाचनले पोखराको पर्यटन प्रभावित

blog

भारतीय पर्यटकले भरीभराउ हुने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिटफुट देखिएका भारतीय पर्यटक । तस्बिरः रमेश पौडेल

रमेश पौडेल

पोखरा,वैशाख १२ गते । पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभाले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।

भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको छ ।  चैत्रदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोकसभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।

बाराहीघाटको आरतीमा सामेल हुनुभएकी भारतको महाराष्ट्रकी अमृता पाटिलले आफूलाई निर्वाचनभन्दा पनि  नेपाल घुम्न मन भएर आएको बताउनुभयो । उहाँले पोखरा निकै राम्रो रहेको सुनाउनुभयो । आफ्ना धेरै साथीले निर्वाचनका कारण नेपालको भ्रमण हाललाई स्थगित गरेको अर्का भारतीय पर्यटक सुभाष श्रीवास्तव बताउनुहुन्छ ।

एकातर्फ साहसिक पर्यटकको हिस्सा भारतीय पर्यटकले लिइरहेको अवस्थामा धार्मिक पर्यटक जसमा मुक्तिनाथसम्म पुग्ने पर्यटक मध्यमा पनि भारतीय पर्यटकको सङ्ख्या नै अधिक हुने गरेको ट्राभल एसोसिएसन पोखराका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । निर्वाचनमा कतिपय भारतीयका लागि सरकारी तवरबाटै सीमा नाकामा हुने सुरक्षा बन्दका कारण पर्यटक प्रभावित भएको पन्थीको भनाइ छ ।

अहिलेको यो समयमा भारतबाट बालबच्चा र परिवारसहित पोखरा घुम्न आउने भएकाले यहाँको पर्यटन बजारलाई केही चलायमान गराउँदै आएको थियो । झण्डै दुई हप्ताको समयमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि यहाँका होटल, रेस्टुराँलगायत अन्य क्षेत्रमा प्रभाव परेको अर्का अग्रज पर्यटन व्यवसायी बच्चुराम तिवारीले जानकारी दिनुभयो ।

वरपीपल होटलका सञ्चालक जित गुरुङले अघिल्ला वर्षमा यो मौसममा भारतीय पर्यटकले भरिभराउ हुने होटल निर्वाचनका कारण प्रभावित भएको बताउनुहुन्छ । अहिले आफ्नो होटलमा १० प्रतिशत मात्र भारतीय पर्यटक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘निर्वाचन पछि भने होटलको बुकिङ फुल भएको छ ।’

दक्षिण भारत, महाराष्ट्र, बिहारलगायतका स्थानबाट आउने पर्यटकको रोजाइमा पोखरा पर्ने गर्दछ । पोखरा आउने आन्तरिक पर्यटकपछि सबैभन्दा धेरै भारतीय पर्यटक नै आउने गरेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटन व्यवसायी वासु त्रिपाठीको भनाइ छ । उहाँले पोखरामा आन्तरिक र बाह्य गरी वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गरेकोमा ४ देखि ५ लाखको सङ्ख्यामा भारतीय पर्यटक रहेका हुन्छन् भने तेस्रो मुलुकबाट आउनेको सङ्ख्या ३० प्रतिशत रहने बताउनुभयो ।

पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारिक तथ्याङ्क नभएको नेपाल पर्यटन बोर्डका पोखरा निमित्त प्रमुख नवीन पोख्रेल बताउनुहुन्छ ।

पोखराको पर्यटनमा झण्डै ६ खर्ब लगानी भएको अनुमान गरिएको छ । हाल आएर होटल क्षेत्रमा मात्र ४० हजार बेड उपलब्ध भइसकेका छन् । तर ती पूर्ण रूपमा सञ्चालन हुन नसक्दा पर्यटन व्यवसायमा उत्साह हुन नसकेको अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटाको भनाइ छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि पोखरा आउने पर्यटकका लागि हवाई टिकट महँगो हुनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीदेखि नारायणघाट र मुग्लिङदेखि पोखरासम्मको सडक समयमै निर्माण हुन नसक्नु पोखराका पर्यटन क्षेत्रका लागि अर्को दुर्भाग्य भएको  अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईको भनाइ छ ।