• २४ वैशाख २०८१, सोमबार

एक हजार बढी हेक्टर जङ्गलमा डढेलोले क्षति

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख १२ गते । म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन क्षेत्र आगलागीले क्षति भएको छ । तीन सय ११ सामुदायिक वन हिमाली जिल्ला म्याग्दीको सय भन्दा धेरै सामुदायिक वनमा भीषण आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी जिल्लाको अधिकांश क्षेत्र भिरालो जमिन भएको कारणले पनि उक्त आगोले गर्दा ग्रामीण बस्तीलाई नै अति जोखिम बनाएको डिभिजन वन कार्यालय म्याग्दीका सूचना अधिकारी विनयबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, "वन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुवाँले पछिल्लो एक महिना यता वायु प्रदूषण पनि बढेको छ ।"

त्यस्तै वनमा डढेलो लगाएको आरोपमा बेनी नगरपालिका–६, का यमबहादुर मिजारलाई प्रहरीले नियन्त्रणमा लिएर वन कार्यालयले अनुसन्धान थालेको सूचना अधिकारी विनयबहादुर अधिकारीले बताउनुभयो । सामान्यतया हेर्ने हो भने, जिल्ला भित्रका नजिक तथा टाढा जतासुकैको क्षेत्रमा आगालागिले आफ्नो चङ्गुलमा पारेको छ । सदरमुकाम बेनीबजार नजिकै रहेको बराहपाखो सामुदायिक वनमा पनि आगालागि भएको उहाँको भनाइ छ । 

म्याग्दी जिल्लाका छ वटा स्थानीय तहका तीन सय ११ सामुदायिक रहनुका साथै राष्ट्रिय वन क्षेत्रमा पनि आगालागिले गर्दा जमिनमा हुने जीवजन्तु जलेर नष्ट भएका छन् । हराभरा हुनुपर्ने बुट्यानहरू डँडेलोका कारण पातहरू जलेर काला तथा उजाड र नाङ्गो भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिकाका साथै अन्नपूर्ण गाउँपालिका, मङ्गला गाउँपालिका, मालिका गाउँपालिका, धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिका क्षेत्रको विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भइरहेको सूचना अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "दैनिक आगलागी हुने वनको सङ्ख्या र क्षेत्रफल थपिँदै छ, मानवीय कारणले हुने घटना रोक्न सचेतना मूलक अभियानले मात्रै सम्भव भएको छैन ।" उहाँका अनुसार आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षाकर्मीलाई उपकरण वितरण सहितका कार्य गरिएको छ । 

आगलागी नियन्त्रणका लागि सञ्चार माध्यमहरूमा सूचना प्रकाशन प्रसारण गर्नुका साथै माइकिङ समेत गरिएको भए पनि त्यसले केही प्रभाव परेको जस्तो भए पनि सोचे जस्तो नतिजा नदेखिएको उहाँको भनाइ छ । प्राय ग्रामीण भेगमा नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठुला सयौँ रूख बिरुवा जलेर नष्ट हुने गरेको अधिकारीको भनाइ छ । आगलागीले ठुलो वन क्षेत्र नोक्सान भएपनि त्यो आगो कसले लगाएको हो भन्ने समेत पहिचान हुन नसकेको उहाँको भनाइ छ । 

आगलागीले ठुलो वन क्षेत्र ध्वस्त भएपनि त्यो आगो कसले लगाएको हो भन्ने बारे खुलाउँदै सकस छ । आगो झोस्ने व्यक्तिबारे थाहा भएमा कारबाहीका लागि सहज हुन्छ । आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण भएको वन क्षेत्रका जानकारहरू बताउँछन् । 

जङ्गलमा आगो लगायो भने वर्षासँगै खरानी बगेर खेतबारीमा आउने र त्यसले माटो मलिलो हुने र खेतीपाती फस्टाउने सोचले पनि आगजनीका घटना हुने बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णसिङ बानियाँको भनाइ छ । समुदायलाई विभिन्न कार्यक्रममार्फत सचेतना फैलाउने काम भएको छ । लुकेर चुरोट–गाँजा खानेको हेलचेक्र्याइँ आगो लाग्ने गरेको अनुमान गर्ने गरिएको उहाँ बताउनुहुन्छ।

सामुदायिक वन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको बेनीका ८३ वर्षीय ज्येष्ठ नागरिक पहलबहादुर खत्रीले बताउनुभयो । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्ष सम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।