• २४ वैशाख २०८१, सोमबार

उपत्यका व्यापी मेयर कप फुटबल गोदावरीमा

blog

प्रतियोगिता बारे जानकारी दिदै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन ।

काठमाडौँ, वैशाख १२ गते । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि गोदावरीमा हुने भएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा काठमाडौँका नौ, भक्तपुरको एक र र ललितपुरका पाँच गरी १५ टिमको सहभागिता रहनेछ । झ्यालेन्टार रङ्गशालामा खेलाइने प्रतियोगिताको विजेता टिमलाई पाँच लाख र उपविजेतालाई तीन लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ । स्थानीय खेलाडीको खेलस्तर उकास्न र  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न ४८ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।