• २२ वैशाख २०८१, शनिबार

दुर्घटनामा पत्रकार यादवको मृत्यु

blog

मोटरसाकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादव ।

विजयकुमार साह

ढल्केबर, वैशाख ११ गते । धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँ रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । मङ्गलबार बिहान ४ बजे आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जनकपुरस्थि प्रादेशिक अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । 

मोटरसाइकलमा पछाडि सवार रहेका यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएको छ ।