• २१ वैशाख २०८१, शुक्रबार

सङ्घ र प्रदेशले देखेन नार्पाभूमि

blog

यदुप्रसाद भट्ट

मनाङ, वैशाख ११ गते । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा रहेको नार्पाभूमि पुग्न दुई दिन पैदल यात्रा गर्नु पर्छ ।

सङ्घीयतापूर्व नार्पाभूमिको विकासमा राज्यको नजर पर्न सकेको थिएन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको दृष्टि पर्न नसकेको सोही गाउँपालिकाका अध्यक्ष तेन्जिङ कोन्जो लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “नार्पाभूमि विकट भएर पनि हुन सक्छ सङ्घ तथा प्रदेश सरकारको दृष्टि अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनताकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रप्रति सरकारले चासो दिएको छैन ।”

सरकारले यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेको स्थानीयको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्यटकीय तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउनसमेत सकिने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिको विकासका लागि स्थानीय सरकारबाहेक अन्य सरकारको चासो पुग्न नसक्दा उपेक्षा गरिएको आभास हुने गर्छ ।

विकट क्षेत्रको विकासमा कुनै पनि सरकारको चासो नपुग्दा यहाँका स्थानीय निराश हुने गरेका छन् । नार्पाभूमि गाउँपालिकाका पूर्वअध्यक्ष मिङ्मा छिरिङ लामाले माथिल्ला सरकारले आम्दानीसँग जोडिएका क्षेत्रको विकासमा नै चासो नदिँदा उपेक्षा गरिएको महसुस हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जालसँग जोडेर स्थानीयवासीको सहज यात्रा गराउने उद्देश्यसहित पटक पटक सङ्घ सरकार र प्रदेश सरकारसमक्ष माग पेस गरेँ तर सुनुवाइ नहुँदा मेरो कार्यकाल सकियो, अझै पनि समन्वय गर्ने भूमिकामा उभिएकै छु ।” सरकारले सहयोग नगरे पनि पालिकाले सडक सञ्जाललाई प्राथमिकता दिएको उहाँको भनाइ छ । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्साभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ । पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दुरी छ । पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन । अध्यक्ष लामाले भन्नुभयो, “उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन, हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ । यसैलाई विकास मान्नुपर्ने अवस्था छ ।” 

चीनसँग सिमाना जोडिएको विकट यस पालिकाले यार्सागुम्बालगायतका जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएको छ । यहाँको जिम्बुलाई देश विदेशसम्म पु¥याएर यहाँको प्रवर्धन गर्न लागिरहेको उहाँको भनाइ छ । विकट क्षेत्रमा कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको उहाँको भनाइ छ । फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा रहेको छ । 

अहिलेसम्म त्यहाँ सीमास्तम्भ राखिएको पाइएको छैन । नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट ‘बिओपी’ राख्नेबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ, सर्वदलीय छलफलबाट बिओपी राख्ने सहमति भइसकेको छ, गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा छलफल गरेका छौँ, अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्न राज्यको पनि ध्यान जानु जरुरी छ ।” 

त्यस्तै यहाँको पर्यटकीय क्षेत्रका रूपमा परिचित समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको काङ्ला पास, मुस्ताङ निस्कने तेरिला पास पनि यसै क्षेत्रमा पर्दछ । यस पदमार्ग हुँदै घुम्न आउने पर्यटकलाई सहज बनाउन आवश्यक छ । स्थानीय तहले सडक सञ्जाललाई विकास गर्दा पदमार्गलाई असर नगर्ने गरी सङ्घ र प्रदेश सरकारले सहयोग गरेमा यहाँको प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्न सकिने पूर्वअध्यक्ष लामा बताउनुहुन्छ ।