• २१ वैशाख २०८१, शुक्रबार

सुनौलो हजार दिनका आमालाई पोषण झोला

blog

पोषण झोला वितरण गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख १० गते । अर्जुन चौपारी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गरेको छ । पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको हो । 

गाउँपालिका उपाध्यक्ष सपना गुरुङले वडा १ मा सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गर्नुभयो । वडा १ का ९७ जनालाई पोसिलो झोला वितरण गरिएको छ भने अन्य वडामा क्रमशः वितरण गर्दैजाने गाउँपालिकाले जनाएको छ । 

अर्जुनचौपारीभित्र रहेका छ वटा वडामा ५८५ जना सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी महिला हुनुहुन्छ । यस कार्यक्रमअन्तर्गत हरेक सरकारी कार्यालय तथा विद्यालयमा डष्टविन, युरोगार्ड, वाटर डिस्पेन्सर वितरण गर्ने तयारी गरिएको गुरुङले बताउनुभयो । 

सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी महिलालाई वितरण गरिएको पोसिलो पोषण झोलामा पोसिलो खिचडी, मीठो दलिया, पोसिलो खिर र हलुवा, च्यवनपरास, दशमूल तेल रहेको छ । 

पोषण संयोजक ललित थापाले पोसिलो पोषण झोलाले सुनौलो हजार दिनको आमालाई दुई महिनालाई पुग्ने बताउनुभयो । 

वडामा पोषण कोष 

पोषण कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न यहाँका सबै वडामा पालिकाको पहलमा पोषण कोषको थालनी गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पोषण कार्यक्रम दाताको सहयोगमा सुरु गरिएको बताउनुभयो । 

वडामा कोष निर्माण गरी आमा समूहलाई उत्पादनसँग जोडिएको बताउँदै तिवारीले अनुदानको केही प्रतिशत कोषमा राख्ने र इच्छा लागेकाले सहयोग पनि गर्न सक्ने बताउनुभयो । 

यो पोषणको कार्यक्रमलाई सँधैभरी निरन्तर रूपमा चलाउन सकियो भने स्वास्थ्य नागरिक निर्माण गर्न सकिने तिवारीको भनाइ छ । केन्द्रको पोषण कार्यक्रम सकिएसँगै वडा चलाउने गरी वडा अध्यक्ष र सचिवको हस्ताक्षर रहनेगरी खाता खोलेर कोष सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।