• २२ वैशाख २०८१, शनिबार

चितुवा र बाँदर आतङ्कले बढायो वनमा डढेलो

blog

तनहुँका जङ्गलमा लागेको डढेलो । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १० गते । तनहुँमा नरभक्षी चितुवा र बाँदर आतङ्कले वन डढेलो बढेको छ । चितुवाले मान्छेलाई आक्रमण गर्ने र बाँदरले अन्न, फलफूल तथा तरकारी खाने र नष्ट गर्ने गरेकोले वनमा डढेलो लागेको पाइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार डढेलोले वन्यजन्तु लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो । सुख्खा मौसममा भएको बेला बस्ती वरपरको क्षेत्रमा डढेलो लगाउँदा फैलिएर जङ्गलसम्म पुगेको छ । चितुवा बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेकाले बाँदरले समेत दुःख दिने गरेकोले झाडी सफा गर्ने क्रममा बस्तीबाट जङ्गलमा डढेलो फैलिँदै गएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । डढेलोले गर्दा लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ। यस्तै‚ डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि जङ्गली जनावरहरू बस्ती क्षेत्रमा पुग्दा मानव-जनावर द्वन्द्व बढेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजनिक वनमा आगलागी धेरै हुनेगरेको पाइएको छ । छ वर्षको अवधिमा तनहुँका १४ जना बालबालिका ज्यान गुमाएको र १८ जना घाइते भएकाले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकाले वनमा क्षति धेरै भएको पाइएको छ । वनमा डढेलो लाग्दा चितुवाका आहारा बँदेल, मृग, चराचुरुङ्गी मासिने, बिरुवा नास हुने, पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियत वन, ६ धार्मिक वन छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार तनहुँमा चालु आर्थिक वर्षमा वैशाख ९ गते सम्ममा २२ वटा विभिन्न वन समुहमा डढेलो लागेर ११५ हेक्टर वनमा क्षेत्रमा डढेलो लागेको छ । डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचार–प्रसार गरिए बस्ती वरपरको झाडीबाट सल्किएर फैलने गरेको पाइएकोले नियन्त्रण गर्न कठिन भएको छ । कतिपय व्यक्तिले घरनजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किएको छ ।  

मानिसले घरनजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्तिएको छ । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नुका साथै माटो नाङ्गो र कमजोर बना भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धनजन र सम्पदामा पनि क्षति गर्ने गरेको वन अधिकृत सागर खनालले बताउनुभयो । वनले वातावरण सन्तुलन कायम राख्न मद्दत गर्ने,  स्वच्छ हावा रुखबाट सृजना हुने भएकोले डढेलोबाट बचाउनुपर्ने खनाल बताउनुहुन्छ । वनजङ्गलले सम्भावित पहिरो रोकथाम गर्न, भूक्षयबाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले  मद्दत  गर्दछ। नियमीत वर्षा कायम राख्न पनि  मद्दत  गर्ने हुँदा डढेलो लगाउन नहुने बताउनुभयो ।  

विभिन्न भाैतिक संरचनाको निर्माण गर्न आवश्यक पर्ने काठ, वनजङ्गलबाटै आपूर्ति गर्न सकिन्छ । वनमा हुने काठ दाउरा विक्री वितरणबाट राजस्व सङ्कलन गर्न तथा आर्थिक क्रियाकलाप वृद्धि गरी  रोजगारी सृजना गर्न सकिने हुँदा जङ्गलको संरक्षण गरिनुपर्ने खनालले बताउनुभयो ।