• १२ साउन २०८१, शनिबार

पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविर

blog

पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरमा परीक्षण गरिँदै ।

नवलपरासी समाचारदाता

बुलिङटार, वैशाख १० गते । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गर्नुभएको प्रमुख श्रेष्ठले बताउनुभयो । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ । 

जसमध्ये दुई जनालाई शिविरमै थर्मो क्वागुलेसन अर्थात् नराम्रो रक्तकोषिकालाई त्यहीँ मारी उपचार गरिएको थियो भने दुई जनालाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी बायोप्सीका लागि रेफर गरिएको छ । पाँच जनालाई शिविरमै थर्मो क्वागुलेसन गर्न नमिलेकाले थप उपचार गर्न भरतपुर पठाइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा पाठेघरको मुखको क्यान्सरबाट महिलाको अकालमै उपचार नपाएर ज्यान जाने गरेको छ । 

पाठेघरको क्यान्सर भएर पनि लुकाउने प्रवृत्तिले अकालमै ज्यान फाल्ने अवस्थामा धेरै रहेको वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । यस्ता शिविर समय समयमा हुनुपर्ने र चेतनासमेत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त शिविरको प्राविधिक सहयोग भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनले गरेको हो भने बुलिङटार गाउँपालिका, नवलपुर र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालि सहआयोजक हुन् । 

शिविरमा वरिष्ठ स्वास्थ्यकर्मी अशोककुमार श्रेष्ठ, वरिष्ठ मेडिकल नर्स अयोध्या पाठक, मेडिकल नर्स प्रकृति पौडेल, धनबहादुर बाचे र नवीनकुमार महतोलगायतको मेडिकल टिमले सेवाग्राहीको पाठेघरको स्वास्थ्य जाँच गरेको थियो ।