• २१ वैशाख २०८१, शुक्रबार

तीन हजार क्वीन्टल खाद्यन्न थप

blog

लिमिटेडको गोदाममा मौज्दात खाद्यन्न । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख ८ गते । यसै आर्थिक वर्षभित्र ढुवानी गर्नेगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्वीन्टल खाद्यन्न थप गरेको छ । जिल्लामा खाद्यन्न समस्या हुन नदिन समय खाद्यन्न कोटा थप्ने कार्य लिमिटेड केन्द्रले गरेको हो ।

लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नबिन आचार्यले पैदल मार्गबाट ढुवानी गर्ने गरी तीन हजार क्वीन्टल खाद्यन्न लिमिटेड केन्द्रले थपेको बताउनुभयो । सो खाद्यन्न राजापुर, सुर्खेत र नेपालगञ्जबाट ढुवानी हुनेछ । उहाँले बेलैमा खाद्यन्न थप्ने कार्य भएको कारण यसवर्ष समस्या नदेखिने बताउनुभयो ।

यसअघि धनगढीसहित चार स्थानबाट चार हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरेकोमा सो खाद्यन्न हालसम्म तीन हजार ७४५ क्वीन्टल खाद्यन्न ढुवानी भइसकेको र अब बाँकी  २५५  ढुवानी खाद्यान्न ढुवानी कार्य भइहेको छ । अघिल्लो वर्षसम्म पैदल मार्गको खाद्यन्न ढुवानी गर्ने कार्य निर्धारित कोटाको आधा मात्र ढुवानी हुने गरेको थियो । यसवर्ष भने पहिलेको कोटा ढुवानी गर्ने कार्य सम्पन्न हुने अवस्थामा रहेको कारण थप तीन हजार क्वीन्टल थपिएको हो ।

गोदाममा मौज्दात राम्रो
लिमिटेडको शाखाको गोदाममा हालसम्म पैदल र हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यन्न मध्य पाँच हजार ५०४ दशमलव ४८ क्वीन्टल मौज्दात रहेको छ । यसअघि चैत महिनासम्म यति धेरै खाद्यन्न मौज्दात गोदाममा हुने गरेको थिएन । निमित्त प्रमुख आचार्यले चैत महिनासम्म खाद्यन्न बिक्री गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । बिक्री गर्दा पनि मौज्दात राम्रो रहेको हो ।

हवाई मार्गको खाद्यन्न ढुवानी अन्तिम चरणमा
जिल्लाका लागि हवाई मार्गबाट निर्धारित कोटाको खाद्यन्न ढुवानी कार्य अन्तिम चरणमा रहेको छ । यसवर्ष हवाई मार्गबाट नेपालगञ्जबाट चार हजार र सुर्खेतबाट छ हजार क्वीन्टल खाद्यन्न कोटा थियो । हवाई मार्गको सबै खाद्यन्न मध्य हालसम्म अब एक हजार एक सय क्वीन्टल मात्र ढुवानी हुन बाँकी रहेको छ । यसवर्ष सिम्रिक एयरको हेलिकोप्टरलाई हवाई मार्गको खाद्यन्न ढुवानीको जिम्मा परेको थियो । हाल पनि सिमकोट विमासस्थलमा हेलिकोप्टर नाईट स्टे बसेर दैनिक खाद्यन्न ढुवानी गर्ने कार्य गरिरहेको छ । वैशाख १५ गते भित्र ढुवानी कार्य सक्ने योजनामा हेलिकोप्टर कम्पनी रहेको छ ।

केरुङ नाकाबाट आउने खाद्यन्न बाँकी
काठमाडौंबाट रसुवा हुँदै केरुङ नाकाबाट चीनको तिब्बती मार्ग भएर आउने चार हजार क्वीन्टल खाद्यन्न बाँकी रहेको छ । यो खाद्यन्न ढुवानीका लागि सप्लायर्स छनौट भइसकेको र ढुवानी प्रकृया अगाडि बढाइएको छ । आगामी जेठ महिनासम्म सो खाद्यन्न ढुवानी भइसक्ने लिमिटेडको शाखाले जनाएको छ ।