• २१ वैशाख २०८१, शुक्रबार

दसबर्से बालकले बनाए बिजुलीबाट चल्ने स्कुटर

blog

अमरराज नहर्की

तनहुँ, वैशाख ८ गते । तनहुँमा एक बालकले १० वर्षकै उमेरमा बिजुलीबाट चल्ने स्कुटर बनाएका छन् । शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित नेपाल पुलिस स्कुल कक्षा ५ मा पढ्ने निश्छल रिमालले यस्तो स्कुटर बनाउनुभएको हो । सानै उमेरमा आफैँले बनाएर बिजुलीबाट चल्ने स्कुटर हाँकेपछि बालकले चर्चा कमाउनुभएको छ । 

प्रविधिमा बढी रुचि राख्ने भएकाले बालकले बिजुलीबाट चल्ने स्कुटर बनाउन सफल भएको नेपाल पुलिस स्कुलका प्रिन्सिपल पुष्पराय क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो, “पढाइका साथसाथै बालक अतिरिक्त क्रियाकलापमा ध्यान दिन्छन् । विशेष गरेर इलेक्ट्रोनिक सामान बनाउनमा उनको धेरै रुचि छ ।” पेट्रोलियम आयातमा धेरै रकम खर्च हुने भएकाले बालकले प्रयोग गरेको प्रविधिलाई सरकारले सहयोग गरेर उद्योग स्थापना गर्नुपर्ने सुझाव प्रिन्सिपल क्षेत्रीको छ ।  

स्कुटर बनाएर चर्चा कमाएपछि भेटेर जिज्ञासा राख्ने र बधाई दिनेको भिड लागेपछि बालकका बुवा नारायण रिमाल र लक्ष्मी रिमाल दङ्ग पर्नुभएको छ । छोराले युट्युब हेरेर बिजुलीबाट चल्ने स्कुटर बनाउन सक्ने बताएपछि आवश्यक रकम दिएको निश्छलकी आमा लक्ष्मी रिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “छोराले नयाँ नयाँ प्रविधिप्रति रुचि राख्ने भएकाले सफलता हात पार्न नसके पनि ज्ञान आर्जन गर्न सक्छ भनेर पैसा दिएको हो, सफल हुँदा खुसी लागेको छ ।” 

परीक्षा दिएर फुर्सदमा बसेको समयमा अनलाइनबाट सामान मगाएर एक हप्ताको अवधिमा स्कुटर बनाएको बालक निश्छलले बताउनुभयो । उहाँले भन्नुभयो, “७५ हजार रुपियाँ खर्च लाग्यो । बुवाआमाले रकम सहयोग गर्नुभयो, बनाउन सफल भएँ ।” आधा घण्टा चार्ज गरेर १० किलोमिटर गुडाउन सकिने उहाँले जानकारी दिनुभयो । भविष्यमा बिजुलीबाट चल्ने कार बनाउने योजना रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्कुटरमा निर्माण जस्तै कारमा पनि सफलता मिल्नेमा ढुक्क छु ।” बालकको क्षमता देखेर चकित परेको र हौसला दिन बधाई दिन गएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, “यस्ता क्षमतालाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले सबै प्रकारको सहयोग गर्छ । निश्छललाई हौसला दिँदा अरूलाई पनि प्रेरणा मिल्छ ।”निश्छल शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडा बजार निवासी हुन् ।