• १२ पुस २०८१, शुक्रबार

कोलिस्टिनको प्रयोग

blog

पोलिमिक्सिन परिवारमा पाँच वटा जीवाणु निरोधक यौगिक पोलिमिक्सिन ए, बी, सी, डी र ई पर्दछन् । यिनीहरूमध्ये कम विषाक्तताको आधारमा पोलिमिक्सिन ‘बी र ई’ लाई जीवाणुबाट हुने कडा सङ्क्रमणको प्रतिरोधमा अन्तिम औषधीका रूपमा प्रयोग गरिन्छ । कोलिस्टिन अथवा पोलिमिक्सिन ई पोलिमिक्सिन वर्गको औषधी हो, जसले जीवाणुको कोषको बाहिरी आवरणलाई अस्थिर बनाएर जीवाणुलाई नष्ट गर्छ । कोलिस्टिन यौगिक सर्वप्रथम सन् १९४७ मा माटोको जीवाणु पेनिब्यासिलस पोलिमिक्साबाट वैज्ञानिकहरू बेनेडिक्ट र लाङलिकले पृथक् गरेका हुन् । 

उक्त यौगिकको सन् १९५० को दशकमा विकसित मुलुकहरूले उत्पादन सुरु गरेयता नै यसको विशेष गरी भेटेरिनरी चिकित्सामा जनावरको रोग निवारणका लागि प्रयोग गरियो । विश्व स्वास्थ्य सङ्गठनबाट सुरक्षित जीवाणु निरोधकका रूपमा वर्गीकरण गरिएका औषधीमध्ये कोलिस्टिन पनि एक हो । यस्ता औषधीको प्रयोग अन्य वर्गका प्रतिजैविक औषधीले काम नगरेको अवस्थामा मात्र गर्नु पर्छ । यस्ता औषधीलाई दुई वा दुईभन्दा बढी प्रकारका औषधीबाट प्रभावित नहुने जीवाणुबाट हुने रोग निवारणका लागि सुरक्षित राखिएको हुन्छ ।

अनुचित प्रयोग र यसको असर

कोलिस्टिन यस्तो प्रकारको औषधी हो; जुन बहुऔषधीय प्रतिरोध क्षमता भएका इन्टेरोब्याक्टेरिया सिई वर्गका जीवाणुविरुद्ध उपयोगी मानिएको छ । कोलिस्टिनलाई अन्य औषधीसँगै संयुक्त रूपमा त्यस्ता जीवाणुविरुद्ध मात्र प्रयोग गरिन्छ तर यस औषधीको जथाभावी प्रयोग र यसको प्रयोग पशुपन्छीको दानामा तथा खाद्य सञ्चयका लागि गरिनुले पनि प्रतिरोध क्षमता भएका जीवाणु दिनप्रतिदिन फैलँदै छन् । यस्ता जीवाणु पशुपन्छीबाट मानिसमा र पर्यावरणमा फैलिएर कुनै पनि औषधीले काम नगर्ने अवस्था सिर्जना हुने हुँदा यस्ता जीवाणुबाट हुने रोगले भविष्यमा हुन सक्ने मानवीय क्षतिप्रति हामी गम्भीर हुनु जरुरी छ ।

तर वर्तमान अनुसन्धानले कोलिस्टिनको अझै पनि व्यापक प्रयोग विशेष गरी जनावरको खानामा भइरहेको पाइएको छ । सन् २०२३ मा ‘द ल्यान्सेट माइक्रोब’ मा प्रकाशित लेख अनुसार विश्व समुदायको गहन चासोका अतिरिक्त कोलिस्टिन जस्तो मानवीय रोग निदानमा अन्तिम अस्त्रका रूपमा प्रयोग गरिनुपर्ने औषधी अझै पनि कम र मध्य आय भएका मुलुकमा घरपालुवा जनावरको शारीरिक वृद्धि र रोग निवारणका लागि प्रचुर मात्रामा प्रयोग भइरहेको छ । कोलिस्टिनको पशुपन्छीमा हुने प्रचुर प्रयोग र यसको सोझो असर ‘कोलिस्टिन रेसिस्टेन्स’ पशुपन्छी, मानिस र पर्यावरणमा देखिनु नै हो । विभिन्न अनुसन्धानबाट ‘कोलिस्टिन रेसिस्टेन्स’ जिन पशुपन्छी, मानिस र पर्यावरणमा एकैसाथ पाइनुले यसको अनावश्यक प्रयोग र त्यसको दुष्परिणाम प्रस्ट हुन्छ ।

कोलिस्टिन रेसिस्टेन्स जिन

मोबिलाइज्ड कोलिस्टिन रेसिस्टेन्स (एमसिआर) जिन चिनियाँ वैज्ञानिकहरूले सन् २०१५ मा पत्ता लगाएका हुन् । इस्चेरिचिया कोली नामक जीवाणु सुँगुर, सुँगुरको मासु र अस्पताल भर्ना भएका बिरामीका दिसामा एकैसाथ भेटेपछि यो जिनसहित अन्य रेसिस्ट्यान्स जिनहरू उक्त ब्याक्टेरियाका मोबाइल जेनेटिक इलिमेन्ट्सको माध्यमबाट पशुपन्छी र मानिसमा सर्ने हुनाले यसले दुई वा दुईभन्दा पनि बढी प्रकारका औषधीबाट प्रभावित नहुने जीवाणुहरू भयावह रूपमा फैलन सक्ने देखियो । 

हालसम्म यस जिनका दस प्रकार भेटिएका छन्, जसमा एमसिआर १ देखि १० सम्म पर्छन् । यी जिन विशेष गरी इन्टेरोब्याक्टेरियासिई वर्गका जीवाणुहरू जस्तै ई. कोली, साल्मोनेला, सिजेला, क्लेबसियला, इन्टेरोब्याक्टर आदिमा भेटिएका छन् । काठमाडौँमा विगतका केही वर्षभित्र गरिएका अनुसन्धानबाट पनि कोलिस्टिन रेसिस्टेन्स जिन भेटिनु र यस्ता जिन पशुपन्छी, मानिस र पर्यावरणमा यत्रतत्र फैलिनुले नेपालमा पनि यो एक विशेष स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ । 

कोलिस्टिनको प्रयोगमा रोक

चिनियाँ सरकारले सन् २०१७ मा र यसको केही समयपछि थुप्रै देशले कोलिस्टिनको प्रयोगमा रोक लगायो तर सन् २०१९ को तथ्याङ्क हेर्ने हो भने कोलिस्टिनको उत्पादन र निर्यात चार हजार २९२ टन रहेको र यसको ९६ प्रतिशत अझै पनि पोल्ट्री र सुँगुर फार्ममै भएको पाइन्छ । यसको मुख्य निर्यातकर्ता चीन नै हो, जसले दुई हजार ६६४ टन कोलिस्टिन निर्यात गर्दछ । सन् २०२० को एक टेक्निकल बुलेटिनमा नेपालमा जीवाणु प्रतिरोधी औषधीहरूको वार्षिक खपत ४८ टन हुने गरेको पाइएको छ । यति धेरै मात्रामा खपत हुने एन्टिबायोटिक्स पक्कै पनि हाम्रो पर्यावरणमा पुग्ने र यसबाट समाजमा जीवाणु निरोधकविरुद्ध प्रतिरोधात्मक शक्ति भएका जीवाणुहरू फैलिनु स्वाभाविकै हो ।

नेपालको सन्दर्भमा हाम्रो कुल गार्हस्थको ४ प्रतिशत पोल्ट्री उद्योगको योगदान छ तर यस उद्योगले निकै समस्या झेल्नु परेको छ; जसको कारण देशको अर्थतन्त्रमा पनि यसको असर पर्ने देखिन्छ । समस्याका मुख्य कारणमा जीवाणु निरोधकको दुरुपयोग एक हो । यसै दुरुपयोगका कारण जीवाणुहरूमा प्रतिरोध शक्ति वृद्धि हुनु र यसबारेमा किसान अनभिज्ञ हुनु नै हो । अर्को पोल्ट्री उद्योगमा यस्ता जीवाणु निरोधकलाई उपचारका लागि मात्र नभई शारीरिक वृद्धि प्रवर्धन गर्न प्रयोग हुनु पनि यसको मुख्य कारण हो । 

औषधी व्यवस्था विभागबाट २०७९ साल माघ २९ गते प्रकाशित कोलिस्टिन औषधीको बिक्रीवितरण तथा प्रयोगसम्बन्धी अत्यन्त जरुरी सूचनामा २०७६ साल भदौ ३ गते बसेको औषधी सल्लाहकार समितिको ४९ औँ बैठकको निर्णयबाट नेपालमा पनि पशुपन्छीको उपचारमा प्रयोग गरिने यस औषधीको दर्ता तथा पैठारीमा तत्काल रोक्ने सिफारिस गरिएको थियो । निर्णय अनुसार उक्त आयातकर्ताबाट अनधिकृत रूपमा आयात गरी लुकाइछिपाई सोझै कृषि फर्म/पोल्ट्री फर्महरूमा उपलब्ध गराई प्रयोग भइरहेको सूचना औषधी ऐन २०३५ को विरुद्ध भएकाले त्यस्ता भए गरेको भएमा अविलम्ब नगर्नू÷नगराउनूहुन यसै सूचनामार्फत सूचित गराउँदै अन्यथा निरीक्षणका बखत सो कार्य गरिएको पाइएमा औषधी ऐन, २०३५ बमोजिम हदैसम्म कारबाही गरिने बेहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको थियो । 

तथापि पशुपन्छीको आहारामा र उपचारमा प्रयोग हुने कोलिस्टिन कति मात्रामा प्रयोग भइरहेको छ भनेर यसको निरीक्षण र निगरानी गरिएको पाइएको छैन । हालै कृषि ऐन छिट्टै आउने भनिएकोमा उक्त ऐनमा कोलिस्टिन जस्ता औषधीको पशुपन्छी एवं मत्स्यपालनमा हुने प्रयोगमा रोक लगाउनुपर्ने व्यवस्था गरिनु अति आवश्यक छ । यसै सम्बन्धमा ऐनमा समेटिनुअगावै सो सम्बन्धमा अनुसन्धान र विज्ञहरूबिच छलफल हुनु अझ जरुरी छ । 

जैविक विविधतासँगै जैविक सुरक्षा पनि आज विश्वको मुख्य विषय हो । हामीले पनि कृषि क्षेत्रमा लागेका जनसमुदायमाझ एन्टिबायोटिक्सको सदुपयोगसम्बन्धी जानकारी र पोल्ट्री उद्योग जस्ता उद्योगहरूबाट जैविक सुरक्षामाथि हुन सक्ने क्षतिबारे जागरण अभियान सञ्चालन गर्न सक्यौँ भने यसले भविष्यमा हुन सक्ने खतराबाट मुक्त हुन सकिन्थ्यो कि ! अहिलेको एक स्वास्थ्य पहुँचको वातावरणमा ‘कोलिस्टिन’ जस्तो औषधी जसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘क्रिटिकल्ली इम्पोर्टेन्ट एन्टिमाइक्रोबियल फर ह्युमन मेडिसिन’ मानेको छ, यसको जथाभावी बिक्रीवितरण गरिनु र यसलाई पशुपन्छीको शारीरिक वृद्धि प्रवर्धन गर्नु अवश्य पनि विशेधाभासपूर्ण र निन्दनीय कार्य हो । 

  

Author

डा. सुरेश सुवेदी