• २१ वैशाख २०८१, शुक्रबार

गायत्री मन्त्रको अद्भुत प्रभाव

blog

जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्या देवी गायत्री मन्त्रकी अधिष्ठात्री हुन् । “गायत्री छन्दमा रचित पवित्र मानिने साँझबिहान जपिने प्रसिद्ध वैदिक मन्त्र” हो भनेर नेपाली शब्दकोशले परिभाषित गरेको छ । मन्त्रलाई गुप्ती कुरो, गोप्य वार्ता, भित्री रहस्य भन्ने गरिन्छ । “देवीदेवताबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य” नै मन्त्र हो भनेर शब्दकोशले परिभाषा दिएको छ । 

टुन्याहा, बोक्सी, भूतप्रेत, सर्प, बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने, लागल हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन नै मन्त्र हो । ‘मननात् त्रायते यस्मात्तस्मान्मन्क्त प्रर्कीर्तितः’ अर्थात् जसको चिन्तन मननले मुक्ति मिल्दछ त्यसलाई मन्त्र भनिन्छ । ‘मन्तारं त्रायते’ अर्थात् जसले मन्त्र पढ्छ, मनन गर्दछ उसलाई मन्त्रले उद्धार गर्दछ भनिन्छ । महिमा भन्नाले अष्टसिद्धिमध्येकी एक वा कीर्ति, यश, ख्याति, महात्म्य, प्रशंसा भन्ने अर्थ लाग्दछ । 

गायत्री महामन्त्र अगात्र (अदेह) समुद्र हो, जसको गर्भमा छिपेर रत्नलाई खोज्न अत्यन्त कठिन छ । गायत्री मन्त्रमा ज्ञान विज्ञानको भण्डार रहेको छ । २४ अक्षरबाट बनेको गायत्री मन्त्र जप गर्दा वरेण्यता प्राप्त हुन्छ । ॐ उच्चारणले ब्रह्मा, विष्णु र महेश्वरको स्मरण हुन पुग्दछ । भू भनेको पृथ्वीलोक हो । भुव भन्नाले अन्तरिक्षलाई लिइन्छ । स्वः भन्नाले स्वर्गलोकलाई दर्साउँछ । यस अर्थमा गायत्री मन्त्रले पृथ्वीलोक, अन्तरिक्ष र स्वर्गलोक तीनै पक्षको प्रतिनिधित्व गर्दछ । गायत्री मन्त्रका प्रत्येक अक्षरमा दार्शनिक तत्व समाहित छ, जसको पूर्ण ज्ञान गर्न अत्यन्त कठिन छ । मन्त्रका अक्षरलाई बिज भनिन्छ । यस मन्त्रमा गूढ महाविद्या समाहित रहेको छ । महाविद्याको अनुसन्धान गर्नु विशिष्ट व्यक्तिको कार्य हो । पृथ्वी, अन्तरिक्ष एवं स्वर्ग लोकलाई जाज्वल्य बनाउने सूर्यदेवको वरण गर्न योग्य तेजोमय मन्त्र नै गायत्री मन्त्र हो । 

सुनकोशी नदीको किनारमा विश्वजित राजाले सत्ययुगमा दस हजार वर्ष तपस्या गरेर गायत्री भगवतीलाई उत्पत्ति गराएको मान्यता रहिआएको छ । आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरको पारिपट्टि रहेको यस गुफामा विश्वामित्र ऋषिले ध्यान गरेर देवी गायत्रीबाट गायत्री मन्त्र प्राप्त गरेको कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । रामेछापको खाँडादेवीस्थित रोसी र सुनकोशी नदीको सङ्गमस्थलको ठिक पारि रहेको विश्वामित्र गुफामा गायत्री माता र विश्वामित्र ऋषिको सुन्दर प्रतिमा रहेको छ । विश्वामित्र ऋषिलाई कौशिक ऋषि पनि भनिन्छ । 

पञ्चाङ्ग पात्रोलाई नेपालको अधिकारिक पात्रो मानिन्छ । पञ्चाङ्ग भन्नाले आयुर्वेदमा जरा, बोक्रा, पात, फूल र फल गरी पाँच तìवलाई बुझाउँछ भने ज्योतिष शास्त्र अनुसार प्रत्येक दिनमा पर्ने तिथि, बार, नक्षत्र, योग तथा कारण पाँच अङ्ग भएको पुस्तिका बुझिन्छ । यसै पात्रोका आधारमा विद्यालय, विश्वविद्यालय एवं विभिन्न सङ्घ संस्थाले पात्रो एवं भित्तेपात्रो बनाउँदै आएका छन् । पात्रोकै आधारमा हाम्रा दसैँ, तिहार, तिज, शिवरात्रि, रामनवमी जस्ता चाडपर्वका दिन तय हुने, तिथि, श्राद्ध गर्ने व्रत, पूजापाठ, जप, ध्यान बस्ने, विवाह, व्रतबन्धको साइत जुराउने गर्दछौँ । यति धेरै महत्व बोकेको पञ्चाङ्ग पात्रोमा रामेछापको विश्वामित्र गुफाबाट गायत्री मन्त्र सुरु भएको कुरा पढ्न पाइन्छ । विश्वामित्र ऋषिले कार्तिक शुल्कपक्ष द्वितीया तिथिका दिन मन्त्र दान पाएका थिए ।


गायत्री मन्त्र ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्ः 

ॐको अर्थ ॐकार, परमेश्वर, भूरको अर्थ मानिसलाई प्राण प्रदान गर्ने, भुवःको अर्थ दुःखको नास गर्ने, स्वाः सुख प्रदान गर्ने, तत्को सूर्य जस्तै उज्ज्वल, सवितुको अर्थ सकल जगत्का उत्पादक, र्वरेण्यं भनेको सबैभन्दा उत्तम, भर्गो भनेको कर्मको उद्धार गर्ने, देवस्य भनेको प्रभु, देवता, धीमहिको अर्थ आत्म चिन्तनयोग्य, धियो भनेको बुद्धि, यो भनेको जसले, नःको अर्थ हामीलाई, प्रचोदयात् भनेको असल मार्गमा प्रेरित गरून् । 

अर्थात् प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, देवस्वरूप परमात्मालाई अन्तस्करण धारण गारौँ । परमात्मा हाम्रो बुद्धिलाई सत्मार्गमा प्रेरित गर्नुहोस् । गायत्री मन्त्रको जप गर्नाले हामीभित्र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । अनुहारमा चमक बढ्छ । तामसिकतासँग घृणा लाग्छ । भगवत भक्तिमा ध्यान जाग्दछ । आँखामा तेज उत्पन्न हुन्छ । क्रोध शान्त हुन्छ । बुद्धि बढ्छ भन्ने मान्यता रहेको पाइन्छ । चार वेदमध्येको सबैभन्दा प्रचीन यजुर्वेदको मन्त्र ऊँ भूर्भुवः स्वः र ऋग्वेदको छन्द ३.६२.१० को संयोजनबाट निर्माण भएको विश्वास गरिन्छ । ब्रह्माण्ड जगत्का चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय देवको ध्यान गर्ने मन्त्रका रूपमा गायन्त्री मन्त्रलाई मानिन्छ । गायत्री मन्त्र जप गर्दा परमानन्दको अनुभूत हुन्छ । 

गायत्रीको एक पटक जप गर्नाले दिनभर गरेको पाप नाश हुन्छ । यदि एक दिनमा एक पटक पनि गायत्री जप गरेन भने जनै लगाएको काम छैन । दस पटक गायत्री जप गर्दछ भने दिन रात्रिमा गरेको पाप नाश भएर जान्छ । सय पटक गायत्रीको जप गर्दछ भने एक महिनासम्म गरेको पाप नाश भएर जान्छन्, जसले हजार पल्ट गायत्री मन्त्र जप गर्दछ, उसले वर्षभरि गरेका पाप नाश भएर जान्छन् । दस लाख गायत्री जप गर्दछ भने जीवनमा अनेक प्रकारका पाप गरेको भए पनि नाश भएर जान्छन् भन्ने विश्वास रही आएको छ । 

बिहान उठेर नुहाएर शुद्ध आसनमा बसी पञ्चपात्रोमा राखिएको जलले मालाद्वारा गायत्री मन्त्रको जप गर्ने चलन छ । सूर्य समानको तेज गायत्री मन्त्र जपेर प्राप्त गर्न सकिन्छ । त्रिवेदमा नै गायत्री मन्त्रलाई शक्तिशाली सर्वोच्च मन्त्रका रूपमा विस्तार गरिएको छ । प्रत्येक दिन तीन पटक गायत्री मन्त्र जप गर्नाले आसपासका नकारात्मक शक्तिले कहिल्यै असर नगर्ने, जागिर, व्यवसाय, पेसा होस् वा विद्यार्थी तथा घरेलु जुन कुनै समयस्याबाट सहजै छुटकारा पाउन सकिन्छ । गायत्री माताको ज्येष्ठ मासको कृष्ण त्रयोदशी अथवा चतुर्दशीको दिन भक्तिपूर्वका व्रत गर्दा अझ प्रभावकारी हुन्छ भन्ने मान्यता छ । हाम्रो शरीरमा तीन प्रकारका दुःख आउने गर्दछन्– स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । मानव शरीरलाई यी तीनै स्तरबाट पर लगेर आत्मिक शान्ति प्रदान गर्दछ गायत्री मन्त्रले । 

नवग्रह र बाह्र नक्षत्रले चारैतर्फ फन्को लगाउँदा १०८ प्रकारको प्रभाव पर्ने हुनाले ग्रह नक्षत्रको नकारात्मक प्रभावबाट छुटकारा पाउनुका साथै सकारात्मक ऊर्जा प्राप्त गर्नका लागि मन्त्रलाई १०८ पटक जप्ने गरिन्छ । यसै हुनाले गायत्री मन्त्रलाई पनि १०८ पटक जप्ने गरिन्छ । गायत्री मन्त्रको अद्भुत प्रभाव र आश्चर्यजनक चमत्कारको विषयमा प्राचीन ऋषिमुनि एवं साधुसन्तहरूले बताउँदै आएका छन् । जुनसुकै समयमा भए पनि गायत्री जप गर्दा सूर्यको स्थूल प्रभाव पर्ने बताइन्छ । गायत्री मन्त्र जप गर्दा सूर्योदयभन्दा दुई घण्टाअघिबाट सूर्यास्तको एक घण्टापछिको समयलाई 

उत्तम मानिन्छ । 


पर्वताग्रे नदीतीरे बिल्वमूले जलाशये । गोष्ठे देवालयेकश्वत्थे उद्याने तुलसीवने । 

पुण्यक्षेत्रे गुरोः पाश्र्वे चित्तैकाग्रयस्थलेकपि च । पुरश्चरणकृन्मन्त्री सिध्यत्येन न संशयः ।। 

– श्रीदेवीभागवत् ११।२१।२–३ 

पर्वतको चुचुरोमा, नदीको तीरमा, बेलको रुखमुनि, नदीनालानजिक, गाईको गोठमा, देवालय, पिपलको फेदमा, बगैँचामा, तुलसीको वनमा, तीर्थस्थलमा, गुरुको नजिक, चित्त एकाग्र हुने स्थानमा साधना गर्दा मन्त्रको फल प्राप्त हुन्छ । गुरुले सिकाएको विधिबाट मन्त्रको साधना गर्नु पर्दछ । मन्त्रलाई उचित समयमा तोकिएको स्थानमा नियमपूर्वक साधना गर्नु पर्दछ । तब मात्र मन्त्रको फल प्राप्त हुन्छ । 


जन्मना जयते शूद्रः कर्मणा द्विज उच्यते 

अर्थात् जन्मँदा सबै शूद्र रूपमा जन्मन्छन् र पछि कर्म गरेर नै द्विज (ब्रह्मण) बन्दछन् भन्ने कुरा कर्म संस्कारमा वर्णन भएको पाइन्छ । कर्म पूरा गरेर कर्म अनुसारको आचरण, व्यवहार, शुद्धता, पवित्रता अनुशीलता हुन पनि त्यत्तिकै जरुरी हुन्छ । गायत्री मन्त्रको नियमित जप गर्नाले मााताको कृपा सदैव प्राप्त भइरहन्छ । दैनिक रूपमा गायत्री मन्त्र जप गर्दा दिमाग तेज हुने कुरा बताइन्छ । यम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिक साइन्स) र आइआइटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) का डाक्टर र वैज्ञानिकहरूले सन् १९९८ देखि गायत्री मन्त्रको औचित्यमाथि सुरु गरेको अध्ययनले यस्तो पुष्टि गरेको छ । 

मानव मस्तिष्कमा असीमित क्षमता हुन्छ । नियमित नियमपूर्वक गायत्री मन्त्रको जप गर्ने हो भने दिमागको क्षमतामा असीमित वृद्धि हुने बताइन्छ । गायत्री मन्त्रको उच्चारण गर्दा मस्तिष्क शान्त हुन्छ । यसको पछाडि ठुलो कारण रहेको पाइन्छ । योग, ध्यान, भजन, मन्त्र उच्चारण आदि गर्दा शरीर र मस्तिष्कका निश्चित भागमा रगतको प्रवाह बढ्ने हुँदा दिमागको सोच्ने, बुझ्ने, निर्णय लिने आदि सम्पूर्ण क्षमतामा अभिवृद्धि हुन पुग्दछ । गायत्री मन्त्रको दैनिक जप गर्नाले मस्तिष्कमा सकारात्मक परिवर्तन आउने निष्कर्ष उक्त रिसर्चले देखाएको छ । गायत्री मन्त्रको उच्चारण गर्नाले मानिसको सोच्ने शैलीमा परिवर्तन आउँछ । एक जना विद्यार्थीलाई एक सय वटा प्रश्न सोध्नुहोस् र प्रत्येक प्रश्नको चार वटा विकल्प दिनुहोस् । उसले कति वटा मिलाउँछ टिप्नुहोस् । अनि एक महिना गायत्री मन्त्र जप गर्न भन्नुहोस् र एक महिनापछि पुनः त्यही प्रश्न सोध्नुहोस् । पहिलेको उत्तरको तुलनामा पछिको उत्तर तुलना गर्नुहोस् । 

जर्मनीका ह्याम्बर्ग युनिभर्सिटीका वैज्ञानिकहरूले पनि गायत्री मन्त्रको अध्ययन गरी यसले मस्तिष्कको क्षमता अभिवृद्धि गर्ने निष्कर्ष निकालेका छन् । अमेरिकी वैज्ञानिक डा. हवार्ड स्टेनजेरिएलले संसारका सम्पूर्ण मन्त्र सङ्कलन गरेर फिजियोलोजी लाइब्रेरीमा अध्ययन गर्दा गायत्री मन्त्रबाट प्रतिसेकेन्ड एक लाख दस हजार ध्वनि तरङ्ग उत्पन्न भएको निष्कर्ष निकालेका छन् । उक्त अनुसन्धानले गायत्री मन्त्र अन्य सम्पूर्ण मन्त्रभन्दा शक्तिशाली भएको निष्कर्ष निकालेको थियो । स्वामी विवेकानन्दले गायत्री मन्त्रलाई सद्बुद्धिको मुकुट मानेका छन् । ब्रिटिस मेडिकल जर्नलका अनुसार गायत्री मन्त्र जप गर्नाले श्वास लिने गति कम हुन्छ, जसले गर्दा मुटुको गति नियन्त्रित हुन पुगी मुटुलाई फाइदा हुन्छ । 

   

Author

केशव चौलागाईं