• २० वैशाख २०८१, बिहिबार

सल्लाको वन बढेपछि पानीका मुहान सुके

blog

मुहान सुकेपछि सुक्खा बनेका खोला । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल    

बैतडी, वैशाख ७ गते । वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । 

पानीको मुहान सुकेपछि स्थानीय भूमिराज स्वामी आधारभूत विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउन समस्या भएको छ । दिवा खाजा खुवाउन टाढाबाट पानी बोक्नु पर्ने बाध्यता सिर्जना भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर ऐरीले बताउनुभयो । 

डेढ दशक अघि कलकल पानी बग्ने अङडेगाडा मुहान, भौनीखोला र ढाणाखोलाको पानी सुकेपछि बस्तीमा समेत खानेपानीको सङ्कट भएको स्थानीय धनश्याम भट्टले बताउनुभयो। पानीका मुहान यही गतिमा सुक्दै गए एक दिन बस्ती नै विस्थापित हुने खतरा भएको उहाँले बताउनुभयो । सिँचाई नहुँदा खेत बाँझो रहेको छ भने बस्तीमा पिउने पानीको हाहाकार मच्चिएको स्थानीयले गुनासो गरेका छन् ।   

सल्लाको कारण मुहान सुकेपछि यो वर्ष पानी सञ्चित गर्ने अन्य प्रजातिका बरुवा रोप्ने निर्णय भएको सेला सामुदायिक वनका अध्यक्ष प्रमानन्द भट्टले बताउनुभयो । ५० वर्षअघि सेला वनमा बाजका रुख भए पनि अहिले ती सबै बिरुवा हराएको उहाँले बताउनुभयो । सल्ला र बनमारा बढेपछि खोला सुकेका छन् ।  सेला सामुदायिक वनमा सल्ला बढेपछि मुहान सुकेको गुनासो आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सल्ला भएका धेरै ठाउँका वन सुक्खा र उजाड बन्दै गएका छन् । त्यसमाथि जथाभाबी सडक निर्माणले पानीका मुहान सुक्दै गएका छन् । सल्ली पिरोलका कारण वनमा डँडेलो लाग्दा अन्य बिरुवा उम्रिन पाउँदैन ।” उहाँले थप्दै अगाडि भन्नुभयो, “यो वर्ष सल्ला भएका वनको अध्ययन गरी नमुनाको रूपमा अन्य बोटबिरुवा काफल, लालीगुराँस, सिलङ्गो जस्ता पानी सञ्चित गर्ने प्रजातिका बोट रोप्ने योजना बनाएका छौँ ।” 

सल्लाको वन भएका सिगास गाउँपालिका–१,मा मात्रै नभई शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले पालिकालाई सुक्खग्रस्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।