• २० वैशाख २०८१, बिहिबार

तीन वर्षभित्र पिपिआर र बङ्गुर हैजामुक्त गरिने

blog

काठमाडौँ, वैशाख ७ गते । पशु सेवा विभागले भेडाबाख्रामा लाग्ने पिपिआर रोग र बङ्गुर हैजा तीन वर्षमा पूर्ण रूपमा नियन्त्रण गर्ने गरी योजना अगाडि बढाएको छ । त्यसका लागि विभागले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा त्यसलाई समावेश गरेको छ । 

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले खोप उत्पादनमा वृद्धि गरी आगामी तीन वर्षमा यी दुई वटै रोग मुक्त गर्ने लक्ष्य बनाएको बताउनुभयो । “हालसम्म उत्पादन भइरहेको खोपबाट ५०–६० प्रतिशत बङ्गुर तथा भेडाबाख्रामा मात्र खोप लगाइन्थ्यो । आगामी आर्थिक वर्षदेखि खोप उत्पादन वृद्धि गरी ९० प्रतिशतमा लगाउने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मान्यता अनुसार ९० प्रतिशतमा खोप लगाइयो भने रोग उन्मूलन भएको मानिन्छ, हालसम्म हामी ५०–६० प्रतिशतभन्दा अगाडि बढ्न सकेका छैनौँ ।” 

हाल ८० लाख डोज पिपिआरविरुद्धको खोप र आठ लाख डोज बङ्गुर हैजाविरुद्धको खोप उत्पादन भइरहेको महानिर्देशक दाहालले बताउनुभयो । आगामी आवदेखि एक करोड ३० लाख डोज पिपिआरविरुद्ध र १४ लाख डोज बङ्गुर हैजाविरुद्धको खोप उत्पादन गर्ने तयारीमा लागेको उहाँले बताउनुभयो । नेपालमा करिब १५ लाख बङ्गुर छन् भने बाख्रा एक करोड ४० लाख रहेको विभागले जनाएको छ । खोप सङ्घले उत्पादन गर्छ भने त्यसलाई लगाउने काम प्रदेशले गर्ने विभागले जनाएको छ ।